सरसफाइमा अनुशासन, स्वच्छ नगरको आधार

मेचीकाली संवाददाता

१६ श्रावण २०८२, बिहीबार
70 shares

सिद्धार्थनगर नगरपालिका हालै सरसफाइ अभियानमा कडाइ गर्दै अघि बढिरहेको छ । घरघरमै फोहोर संकलनका लागि नियमितरूपमा ट्याक्टर पु¥याइँदै आएको भए पनि सडक छेउ, सार्वजनिक स्थान, खाली जग्गा जस्ता ठाउँमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिले नगरको सौन्दर्य मात्र होइन, वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पारेको छ । यस्तो अराजक र लापरबाहीपूर्ण व्यवहार नियन्त्रण गर्न नगरपालिका प्रशासनले निगरानी र कारबाही दुवै उपाय अपनाउनु सान्दर्भिक छ । राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई तत्कालै कानुनी रुपमा जवाफदेही बनाएर जाने हो भने त्यसले सकारात्मक ऊर्जा प्रदान गर्छ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार नगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने कानुनी अधिकार प्रयोग गर्दै पछिल्लो दुई महिनामा १८ जनालाई कारबाही गरेको छ । पाँच हजारदेखि १५ हजारसम्मको जरिवाना र भिडियो प्रमाणसहितको कार्यवाहीले अब नागरिक चेतना अभावका कारण हुने लापरबाहीमा सुधारको अपेक्षा गर्न सकिन्छ । फुल टिप्ने, रुखका हाँगा भाँच्नेजस्ता स–साना तर गम्भीर प्रकृतिका कार्यहरूमा पनि नगरप्रहरी परिचालन गरिनु अनुशासन कायम गर्नको लागि स्वागतयोग्य कदम हो । यो कामलाई अझ प्रभावकारी बनाउन नगरबासीको पनि उत्तिकै भूमिका रहन्छ ।

यद्यपि, यस्तो अभियान सफल बनाउन नागरिकको सक्रिय सहकार्य अनिवार्य छ । सरसफाइका लागि एकतर्फी प्रशासनिक कडाइ मात्र पर्याप्त हुँदैन । घरमै फोहोरको प्रकृति अनुसार छुट्टै छुट्टै व्यवस्थापन गरी सुक्खा तथा भिजेको फोहोर अलग गर्नु, कम्पोष्ट बनाउन प्रेरणा दिनु र पुनः प्रयोगको प्रणालीलाई प्रोत्साहन गर्नु दीर्घकालीन समाधानका उपाय हुन् । नगर प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत जनक थापालगायतका सम्बन्धित अधिकारीहरुले भनेझैँ सिद्धार्थनगर गौतम बुद्धको प्रवेशद्वार हो, यसलाई क्लिन, ग्रीन र वातावरणमैत्री नगर बनाउने अभियानमा जनसहभागिता अपरिहार्य छ । नगरको अनुशासन, सफा सडक, हरियाली र स्वस्थ वातावरण हाम्रो सामूहिक पहिचान हो । त्यसैले अब हरेक घर, पसल र व्यक्तिले ‘मेरो नगर, मेरो जिम्मेवारी’ भन्ने सोचलई व्यवहारमा उतार्न जरुरी छ ।

सरसफाइका काम केबल कर्मचारीले मात्रै गरेर साध्य लाग्दैन । हरकोहीले पनि जथाभावी फोहोर नगर्ने र अनुशासति सरसफाइमा ध्यान दिने हो भने स्वच्छ समाजको कल्पना बल्ल साकार हुने हो । फोहोरको प्रकृत्ति पनि सकभर घरमै अलग अलग गरेर राख्ने र सफाइको गाडी आएपछि पहिचान हुनेगरी छुट्याएर दिनुपर्छ । यसले सरसफाइको कामलाई अझ प्रभावकारी बनाउँछ । घरैदेखि अनुशासन कायम गर्दा मात्रै सरसफाइका काममा गुणात्मक सुधार आउँछ ।