संखुवासभा सामुहिक हत्याकाण्डका अभियुक्त सार्वजनिक

मेचीकाली संवाददाता

२७ भाद्र २०७८, आईतवार
1111 shares

संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।हत्याको अभियोगमा स्थानीय २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । लोकबहादुर नाताले मृतक तेजबहादुर कार्कीका भतिजा पर्छन् ।

उनले अभियोग स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीका मृतक तेजबहादुरले हेप्ने गरेकाले उनको हत्या गरेको र हत्याका प्रत्यक्षदर्शी परिवारका अन्य सदस्यको पनि हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या भएको समाचार एकाएक बाहिरियो । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

सुरुमा ६ जनाको हत्या हुँदा घटना लुटपाट वा लेनदेनको उद्देश्यबाट भएको हुनसक्ने भन्दै अनुसन्धान त्यही तर्फ मोडिएको थियो । तर घटनापछि घरको खानतलासी गर्ने क्रममा लुटपाट भएको भेटिएन भने तेजबहादुरसँग लेनदेन रहेका व्यक्तिहरूको खोजी गरियो । तर, लेनदेनमा संलग्न व्यक्ति पनि घटनामा संलग्न हुने सम्भावना ज्यादै कम देखिएपछि प्रहरीले घटना रिसिइबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित गर्‍यो । र, अन्ततः भदौ २६ गते शनिवार बिहानै अभियुक्त लोकबहादुर कार्कीले अपराध कबुल गरेका थिए ।