नेपालबाट किन रोकिरहेको छ भारतले स्टिल भाँडाकुँडाको निर्यात ?

मेचीकाली संवाददाता

३० श्रावण २०८२, बिहीबार
1295 shares

–निकासी रोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत
–बीआईएस लगाई चिनियाँ कच्चा पदार्थ रोक्न खोजिएको दाबी
–भारतलाई पत्राचार भए पनि महिनौंदेखि प्रतिक्रिया आएन
–गोदाममै थन्किए सयौं टन भाँडाकुँडा, भन्सारको राजस्व प्रभावित

अमृत गिरी

बुटवल। नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात झण्डै चार महिनादेखि ठप्प छ । यसले भैरहवा सेजमा रहेका र मुलुकका अन्य ठाउँमा रहेका करिब दर्जन उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि असर पारेको छ ।

निकासी खुलाउन उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म उद्योगीहरुले गुहार मागेका छन् । सरकारी निकायले पनि विभागीय प्रयास हुँदै भारतलाई पत्राचार गरिसकेको छ । तर, महिनौं भयो समस्या समाधान भएको छैन ।

यी निकायले पनि मातहतमा पत्राचार गर्दै निकासी खुलाउन महिनौंदेखि पहल गरेका छन् । भारतले लगाएको यो नियम अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हो । तर, भारतले यसबारेमा कुनै ठोस जवाफ दिएको छैन । परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत भारत सरकारलाई यसबारेमा पत्राचार गरिसकेको छ । यो पनि महिना दिनभन्दा धेरै भइसक्यो । तर, यसमा पनि भारतले कुनै प्रतिक्रिया जनाएको छैन र समस्या उस्तै छ ।

सेजबाट उद्योग मन्त्रालय, उद्योगबाट परराष्ट्र र परराष्ट्रबाट भारतलाई पत्राचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव तर्कराज भट्टले यस विषयमा उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयमा र परराष्ट्रबाट भारत सरकारलाई पत्रचार भइसकेको बताएका थिए । तर, अहिलेसम्म परिणाम देखिएको छैन । सम्भवः भारतले यो प्रावधान नहटाउन पनि सक्ने बताइन्छ ।

भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो अनिवार्य गरेपछि तीन महिनाभन्दा लामो समयदेखि नेपालबाट स्टिलका भाँडाकुँडा निर्यात रोकिएको छ । यसअघि उत्पादित वस्तुमा मात्र ‘ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस)’ अनिवार्य थियो भने अब कच्चा पदार्थमा पनि बीआईएस खोजिएको छ ।

यी सामानका लागि चाहिने कच्चा पदार्थ चाइनाबाट आउँछ । चीनबाट कच्चा पदार्थ ल्याएर भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) र वीरगञ्जमा त भारतीयहरुकै लगानीमा स्टिलका भाँडाकुँडा उत्पादन गर्ने ठूला उद्योग स्थापना भएका छन् । उक्त उद्योगका उत्पादन करिब चार महिनादेखि भारत निकासी ठप्प भएका छन् । सेजमा रहेको भिस्तार ग्लोबल प्रालिसहित पञ्चकन्या स्टिलका स्टिलजन्य वस्तु भैहरवा भन्सारबाट सबैभन्दा धेरै निकासी हुनेमध्येमा छैठौं नम्बरमा थिए । तर, अहिले रोकिएका छन् ।

अधिकांश स्टिल उद्योगमा भारतीय लगानी
पञ्चकन्याले स्टेनलेस स्टिल ट्यांकी र भिस्तारले स्टिलका विभिन्न घरायसी प्रयोजनका सामग्री निर्यात गरिरहेका थिए । अहिले त सेजमा रहेको पञ्चकन्या उद्योग अस्थायी रुपमा बन्द नै भएको छ । वीरगञ्जमा सेज र सेज बाहिर करिब १० वटा जति उद्योगहरु त भारतीयहरुकै रहेका छन् ।

भैरहवा सेजमा रहेको भिस्तारा ग्लोबल प्रालि उद्योगको ९० प्रतिशतभन्दा धेरै उत्पादन भारत निर्यात हुँदै आएको थियो । भैरहवा भन्सार कार्यालयको रेकर्डमा पनि सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमध्येमा यो उद्योगका उत्पदादन पनि छन् । यो उद्योगका उत्पादनको गुणस्तर चेकजाँच गर्न भारतीय अधिकारीहरु नै उद्योगका आएका थिए । त्यहाँ उनीहरुले प्रमाणपत्र पनि दिएर गएका थिए ।
उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक भ्यालु एड गरेर सामान पठाउँदै आएकोमा अहिले भारतले कच्चा पदार्थमा पनि बीआइएस खोजेर कच्चा पदार्थ जति सबै भारतको, उद्योग संरचना मात्र नेपालको बनाउन खोजेको देखिएको छ । भारतले यसअघि नेपालबाट निर्यात हुने स्यानिटरी प्याड, प्लाइउड, जुत्ता चप्पल र सिमेन्ट/क्लिंकरमा पनि बीआईएस लागू गरेको थियो ।

भिस्तार ग्लोबलका लेखा प्रमुख अरबिन्द त्रिपाठीले उद्योगले महिनामा ४ सय टन भान्सामा उपयोग हुने भाँडाकुँडा उत्पादन गर्दै आएको बताए । अहिले स्थानीय बजारमा आपूर्ति गर्न मासिक २०/३० टन मात्र उत्पादन भइरहेको छ । निर्यात गर्न नपाएपछि गोदाममा अहिले सयौं टन भाँडाकुँडा थन्किएको र अन्य मुलुकमा नेपालबाट सिधै निकासीको पहल भइरहेको बताइएको छ ।

धेरै निकासी हुनेमध्येको वस्तुमा स्टिलका भाँडाकुँडा
भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले करिब तीन महिनादेखि यस्ता सामानको निर्यात रोकिएको बताए । ‘भारतले स्टिल आयात व्यवस्थामा नयाँ सफ्टवेयर जडान ग¥यो,’ उनले भने, ‘उक्त सफ्ट्वेयरमा नेपाल उल्लेख नगरिएकाले समस्या भएको हो ।’ जुन मुलुकमा कच्चा पदार्थ सस्तो पाइन्छ, उद्योगीले त्यहीँबाट आयात गर्ने परम्परा रहेको औंल्याउँदै उनले भने, ‘अहिले त भारतबाट कच्चा पदार्थ ल्याएर निर्माण गरे मात्र निर्यात गर्न पाइने भयो, नत्र अवरोध हुने देखियो ।’ भन्सारका अनुसार गत आर्थिक वर्ष मुलुकबाट निर्यात भएका प्रमुख १० वस्तुमा फलाम वा स्टिल भाँडाकुँडाको योगदान छैटौं नम्बरमा छ । गत वर्ष ७३ करोड ६२ लाख ५८ हजारको भाँडाकुँडा निर्यात भएको छ ।

भारतले लागू गरेको नियम अन्तर्राष्ट्रिय मान्यताअनुसार उपयुक्त नभएको उनको भनाइ छ । नेपालमा उत्पादन भइरहेका अन्य वस्तुमा यस्तो प्रावधान छैन । कच्चा पदार्थ आयात रोकिएपछि उद्योग स्वतः बन्द हुने अवस्थामा पुगेको भन्सार प्रमुख रेग्मीले बताए । ‘यस्ता सामग्री निर्यातले विदेशी मुद्रा आर्जनमा योगदान पुगिरहेको छ,’ उनले भने, ‘यसका साथै अन्तरदेशीय व्यापार सन्तुलनमा टेवा पुगेको थियो ।’

बहाना गुणस्तरको, निशाना चिनियाँ कच्चापदार्थ रोक्ने
भारतले चिनियाँ कच्चा पदार्थलाई रोकेर कच्चा पदार्थ पनि भारतबाटै आओस् भन्ने मनसायले यस्तो गरिरहको कतिपय उद्योगीहरुको ठहर छ । कच्चा पर्दाथमा पनि बीआईएस प्रमाणपत्र लिन भन्नुको अर्थ भारतबाहेकका मुलुकबाट खासगरी चिनबाट कच्चा पदार्थ नल्याइयोस् भन्नु रहेको ती उद्योगीको ठहर छ ।

भैरहवा सेजका सह–निर्देशक मेकानिकल इन्जिनियर सबुत डुम्रेले भरतले कच्चा पदार्थमा पनि बीआईएस खोज्नु भनेको अब कच्चा पदार्थ चीनबाट नल्याइयोस् भन्ने उद्देश्यले हुनसक्ने दाबी गरे । ‘भारतीयहरुकै लगानीमा ६ वर्षअघि करोडौं लगानीमा स्थापना भएको उद्योगको ९० प्रतिशत उत्पादन भारतमै जान्थ्यो र त्यहाँबाट अरु मुलुकमा पनि जान्थ्यो तर त्यहीँ उद्योगका उत्पादनलाई पनि रोक्नु भनेको चिनियाँ कच्चा पदार्थ रोक लगाउन खोजेको मनसाय देखिन्छ,’ इन्जिनियर डुम्रेको भनाइ छ ।