

टोपलाल अर्याल
गुल्मी । रिडी–रुद्रवेणी–वामीटक्सार मुख्य सडकखण्डको खैरेनीबाट डेढ घण्टाको उकालो उक्लेपछि भार्से पुगिन्छ । खैरेनीको फाँट, जोहाङ्ग र जुनियाँका मनोरम बस्तीहरु छिचोल्दै करिब एक हजार ७३५ मिटर पहाड निस्केपछि देखिने भार्से गाउँले बाटोको पीडाभरि भुलाइदिन्छ । जिल्लाकै सबैभन्दा धेरै मगर बस्ती भएको भार्सेमा आफ्नो परम्परागत रीतिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जीवित छ ।
रिपरि पहाडले घेरिएको समथर जमिनमा टसक्क बसेको सानो बस्ती निकै आकर्षक देखिन्छ । बर्खा लागेकाले हरियाली र स्वच्छ वातावरणमा देखिने अधिकांश ढुङ्गे घरले भार्सेको सौन्दर्यकरण गरेको छ । तराईको गर्मीले पोलेपछि भार्से पुग्नेहरुलाई चिसो हावा नै काफी छ । लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो पहाड थाप्लेसँग उभिएको भार्से गाउँ प्राकृतिक रुपमा पनि निकै सुन्दर र रमणीय छ ।

कोदोको ढिडो र कोदोकै रक्सी । मकै र फापरको रोटीमा टिमुरको चट्नी राखेपछि जिब्रो नचड्की सुख्खै छैन । भार्सेली महिलाहरुले रानीवन सामुदायिक होमस्टेमा पुग्ने पाहुनालाई स्वागत गरेपछि मकै र बाँकको गुन्द्रुक, कालो भट्टसंग लोकल ठर्राबाट आतिथ्यताको मेलो सुरु हुन्छ । जिल्लाका पुरानामध्येको रानीवन होमस्टे अहिले पाहुनाले कहिल्यै खाली हुँदैन । बिस्तारै चिसो र रातले छोप्दै गएपछि घन्किने सोरठी, कृष्ण चरित्र र ठाडो भाकामा रमेका पर्यटकलाई समय छिप्पएको पत्तै हुँदैन् ।
रानीवनमा गासबासका लागि महङ्गो छैन । भार्सेली मगरहरुको कला संस्कृतिको संरक्षणसंगै पर्यटकीय सम्भावना देखेर सात वर्षदेखि होमस्टे सञ्चालन गरिएको रानीवन होमस्टे संचालक समिति अध्यक्ष गंगा दलार्मीले बताइन् । पुराना कलात्मक शैलीका घरहरु, मगर दिदिबहिनीहरुको न्यानो आतिथ्यता र परिकारले रानीवन होमस्टे आर्यआर्जनको माध्यम बनिरहेको छ । अहिले १७ घर मिलेर सामुदायिक भवनमा पाहुनाहरुलाई सेवा दिने गरिएको छ । बिस्तारै घरघरमा होमस्टे बिस्तार गर्ने योजना रहेको छ ।
सत्यवती गाउँपालिका–८ भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रुपले समेत अध्ययन केन्द्र हो । भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरुको फोटो र इतिहासको लागि भूपु गोर्खा ग्लालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवाहरुसहितको भार्से ग्यालरी निर्माण गरिएको छ । यो सबैभन्दा महत्वपूर्ण भार्सेको विशेषता हो । विशेष गरेर भार्से घुम्न आउनेहरुको लागि भार्से ग्यालरी पुग्नैपर्ने गन्तव्य हो ।

नजिकै धेरै ठूला व्यावसायीक किवी फर्महरु छन् । झुलेनीथुम मन्दिर, तीन सय वर्ष पुरानो ठुलोपोखरा र अर्गुल दरबार क्षेत्रसहितको घुमघामपछि अर्को रमाइलो र दिन बिताउने ठाउँ हो भार्सेलीहरुले साढे दुई करोडको लागतमा निर्माण गरेको बौद्ध स्तुपा । बौद्ध स्तुपा निर्माणको परिकल्पनाकार समेत रहेका लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको एक करोड १५ लाख बढी सहयोग र भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँहरुका प्रवासीहरु गरेर आठ सय बढीले आर्थिक सहयोग गरेर निर्माण गरिएको छ । स्तुपा र फन पार्कले आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्य बन्दै गएको छ । वनभोज वा होटलमै रमाउने, हिमालका मनमोहन दृश्यावलोकन गर्नेदेखि विभिन्न सुविधा छन् ।

जिल्लाका पुरानामध्येको रानीवन होमस्टेमा अहिले पाहुनाले कहिल्यै खाली हुँदैन । स्थानीय परिकारको स्वादसंगै सोरठी र कृष्ण चरित्रको सांस्कृतिक प्रस्तुतीले सवैलाई लोभ्याउँछ । भार्सेमा तामाखानीसमेत छ । भार्सेमा १०/१२ पुस्ताअघिका संरचना र संस्कृति अझै जीवित रहेको स्थानीय ७२ वर्षीय मनबहादुर श्रीसले बताए ।