वैशाखमा बन्द भएको सुपा देउराली मन्दिर खुला

मेचीकाली संवाददाता

२९ भाद्र २०७८, मंगलवार
990 shares

अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली मन्दिर आज (मंगलबार) देखि खुलेको छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि खुला भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सुपादेउराली मन्दिर बन्द भएपछि भक्तजनहरूले बाहिरै पुजा अर्चना गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा भने अझै असोज ७ गते बिहीबार राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।

प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला गर्न दिने निर्णय गरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरू, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी पसल र व्यवसाय, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरू पहिले नै खुलेका छन् ।