

बुटवल। रुकुमपूर्वबाट प्रतिनिधित्व गर्ने नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको अप्रत्यासित निधनले जिल्ला शोकमा डुबेको छ ।
इमानदार राजनीतिज्ञको छवि बनाएकी युवा महिला नेत्री पुनको शनिबार काठमाडौंमा उपचारका क्रममा निधन भयो । पुथा उत्तरगंगा गाउपालिका–१० तकसेरा निवासी पुनले दुई वर्षअघि मात्र रुकुम पश्चिमका गोपाल योगीसँग बिहे गरेकी थिइन् । गर्भवती उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको थियो । सांसद पुनले अपरेसनमार्फत एक हप्ताअघि छोरीलाई जन्म दिएकी थिइन् । तर, आफू भने शनिबार सधैँका लागि अस्ताइन् । सानैदेखि मुटु रोगको समस्यामा रहेकी प्रदेशसभा सदस्य पुनको परिवार रुकुममा एमालेलाई स्थापित गर्न र संगठन विस्तारमा ठूलो भूमिका खेल्दै आएको थियो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काले अपरेसन गरी बच्चा जन्माएपछि मुटुको समस्या निको नहुँदा कलिलै उमेरमा सांसद पुनको निधन भएको बताए । ‘उहाँ (सरिता)मा सानैदेखि मुटुको समस्या थियो’, खड्काले भने, ‘गाउँमै हुनुहुन्थ्यो, स्वासप्रस्वासमा समस्या देखिएपछि काठमाडौं ल्याइयो । डाक्टरले मुटुको भल्ब फेर्न भनेपछि डाक्टरले दिएको मितिभन्दा एक महिना अघि नै अपरेसन गरेर बच्चा निकालियो । त्यसपछि मुटुका दुई वटा मेजर अपरेसन भए । तर, सुधार नभएपछि शनिबार निधन भयो ।’
समाज परिवर्तन, सुशासन र जनताका चाहनालाई सम्बोधन गर्ने उनको महत्वपूर्ण भूमिका रहेको खड्का बताउँछन् । दूरदर्शि, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान् जनप्रतिनिधि रुकुमपूर्वले गुमाएको नेता खड्काले बताए । अपरेसनपछि देखिएको निमोनियाका कारण उनको निधन हुन पुगेको खड्काले बताए । केही वर्षअघि सरिताका पिता तथा पार्टीका नेता सतमान पुनको कोरोना महामारीमा निधन भएको थियो । रुकुम पूर्वका सांसद दिलकुमारी बुढाले सरिताको निधनले जिल्लाको राजनीतिमा अपूरणीय क्षति पुगेको बताइन् ।
‘प्रदेशसभामा उहाँको प्रभावकारी भूमिका थियो । असल र क्षमतावान् हुनुहुन्थ्यो । हामीले जिल्लाको विकासमा मिलेर बजेट राख्ने गथ्र्यौं । बच्चा जन्माएर घर फर्किन सक्नुभएन । प्रदेशसभाले क्षमतावान् जनप्रतिनिधि गुमायो’, बुढाले भनिन् । कम उमेरमै सरितालाई गुमाउनु परेकाले पार्टीलाई अतुलनीय क्षति पुगेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् । सरिताको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरेका छन् ।