राष्ट्रिय स्वाभिमानमा अडिग ओली

मेचीकाली संवाददाता

१६ भाद्र २०८२, सोमबार
14 shares

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले राष्ट्रियता र देशभक्तिप्रतिको उनको अडान फेरि एकपटक उजागर भएको छ । नेपालको सार्वभौमिकता र सीमा अखण्डतामा ओली सधैं अटल रहँदै आएका छन् । नेपालको आधिकारिक नक्सा सार्वजनिक गरी संविधानमै समावेश गर्ने ऐतिहासिक निर्णयदेखि लिएर छिमेकी राष्ट्रसँगका सम्बन्धमा चट्टानी अडान लिनु, शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने ओलीको विशेषता हो । यसपटक चीन भ्रमणमा उनले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषय प्रष्टसँग प्रस्तुत गर्नु उनको दृढ देशभक्तिको अर्को उदाहरण बनेको छ ।

नेपालको समेत भूभाग रहेको लिपुलेक हुँदै भारत र चीनले जुन व्यापारिक सम्झौता गरेका छन् यसमा नेपालको आपत्ति रहेको कुरा प्रम ओलीले स्पष्ट पारेका छन् । यसले सारा नेपालीको शिर उचो बनाउने कदम हो । यसप्रकारको साहसी कदमलाई पनि अनेक पूर्वाग्रह र स्वार्थका दूषित आँखाले हेर्नु भनेको देशभित्रै रहेका दुःखी आत्माहरुको रोइलो हो । जुन अहिले घरी के घरी के भन्दै दुःखी आत्माहरु बर्बराइरहेको अवस्था छ ।

यो साहसिक कदम केवल औपचारिक भेटमा मात्र सीमित रहेन, बरु प्रतिनिधिमण्डलकै उपस्थितिमा सम्माननीय प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपालको दाबी प्रस्तुत गरे । नेपालको जानकारी र सहमतिबिना भारत–चीनबिच लिपुलेकलाई व्यापार मार्ग बनाउने सहमति अस्वीकार्य हुने सन्देश उनले शक्तिशाली छिमेकीमाझ दिएका छन् । समृद्धि र खुसीयालीको सपना देख्ने मात्र होइन, राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेताका रुपमा ओली निरन्तर स्थापित हुँदै आएका छन् । यद्यपि कतिपय पूर्वाग्रही सोचले प्रम ओलीको योगदानलाई कमजोर पार्ने प्रयास भइरहे पनि तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा उहाँले प्रस्तुत गरेको अडान युगीन महत्वको छ, स्वागतयोग्य र प्रशंसनीय छ । राष्ट्रियताको सवालमा कसैसँग सम्झौता नगर्ने ओलीको धारणा स्पष्ट देखिन्छ । यी कदम राजनेताका असल शैलीका रुपमा स्थापित छन् ।

आजको परिस्थितिमा नागरिक समाज, राजनीतिक नेतृत्व र मिडिया सबैले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ । भ्रमपूर्ण प्रचार वा विदेशी शक्तिको चाकडीले होइन, सत्य र तथ्यका आधारमा देशलाई अगाडि बढाउनै पर्छ । प्रधानमन्त्री ओलीले चीनमाझ देखाएको दृढता देशभक्त नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ । यही आत्मविश्वास र अडान नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता सुदृढ बनाउने प्रमुख आधार हो । लिपुलेक–लिम्पियाधुरा–कालापानीको सवाल केवल कूटनीतिक औपचारिकता मात्र होइन, राष्ट्रियता र सार्वभौमिकताको विषयमा नेपालले कहिल्यै सम्झौता नगर्ने दृढ सन्देश हो ।