पर्यटन उद्योगलाई जोगाऔं

मेचीकाली संवाददाता

३१ भाद्र २०८२, मंगलवार
5 shares

हालैको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकको पर्यटन र आतिथ्य व्यवसायले अकल्पनीय क्षति भोग्नुपरेको तथ्य उजागर भएको छ । होटल व्यवसायीहरूको छाता संस्था होटेल एसोसिएशन नेपाल (हान) ले मात्र २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन सार्वजनिक गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम जारी रहेकाले क्षति अझै बढ्ने निश्चित छ । कतिपय उद्यमीका प्रतिष्ठान त खरानी परेकाले त्यसमा मानवीय क्षतिसमेत भएको अनुमान छ । यसको तथ्यपूर्ण छानबिनको खाँचो छ ।
काठमाडौंको पाँचतारे हिल्टन होटलदेखि पोखरा, बुटवल, तिलोत्तमा, विराटनगर, धनगढी, दाङ, झापा, भैरहवा र अन्य सहरका पर्यटकस्तरीय होटल र रिसोर्टमा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुककै आर्थिक मेरुदण्डलाई कमजोर बनाएको छ । हिल्टन होटलजस्तो अन्तर्राष्ट्रिय चेनमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुनु घटनाको भयावहता प्रष्ट देखिन्छ । यसप्रकारका होटलहरुमा छानीछानी आक्रमण हुनु, आगजनी हुनु गम्भीर विषय भएकाले तथ्यपूर्ण छानबिन हुनुपर्छ । व्यक्तिका सम्पत्ति छानीछानी जलाउने, लुट्ने जस्ता अपराधपूर्ण कुकर्मको पनि छानबिन हुनुपर्ने माग उठेको छ ।
यो क्षति केवल भवन वा संरचनामा सीमित छैन । तत्कालका लागि पाँच हजारभन्दा बढी कर्मचारी रोजगारीविहीन भएका छन् । चाडपर्वकै बेला घर खर्च चलाउन नसक्ने स्थिति सिर्जना हुनु श्रमिकवर्गप्रति अन्याय मात्र होइन, दीर्घकालीन रूपमा व्यवसायीको लगानी–विश्वासमा पनि चोट पु¥याउने खालको हो । पर्यटकहरूले बुकिङ रद्द गर्न थालेको खबरले नेपालप्रति अन्तर्राष्ट्रिय धारणा नकारात्मक बन्ने जोखिम बढाएको छ । पर्यटनलाई ‘शान्ति र सुरक्षित वातावरण’ कै आधारमा निर्भर गराइन्छ, तर हालको अवस्था उल्टो सन्देश दिन थालेको छ । के यहीँ हालतको सिर्जना गर्न भएको थियो आन्दोलन ? के थियो मक्सद ? त्यो खुल्नुपर्छ ।
यस्ता कठिन घडीमा सबै सरोकारवालाको साझा जिम्मेवारी रहन्छ । व्यवसायीहरूले दृढ अठोटसहित पुनर्निर्माण र सेवा पुनः सञ्चालनको तयारी अघि बढाएको स्वागतयोग्य छ । तर यो पर्याप्त हुँदैन । सरकारले क्षति मूल्याङ्कन गर्न अधिकारप्राप्त न्यायिक समिति गठन गर्नुपर्छ, दोषीलाई कठोर सजाय दिनुपर्छ र लगानीकर्ताको मनोबल जोगाउन विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्छ । विदेशी पर्यटकलाई नेपाल अझै सुरक्षित छ भन्ने विश्वास दिलाउन नेपाल पर्यटन बोर्ड, दूतावास र निजी क्षेत्रबिच समन्वय गरेर सकारात्मक सन्देश प्रवाह तत्काल गर्न जरुरी छ । नेपालको पर्यटन उद्योगले लाखौं रोजगारी सिर्जना गरेको छ, विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बनेको छ र मुलुकको पहिचान निर्माणमा योगदान दिएको छ । यसलाई जोगाऔं ।