क्रिकेटमा ऐतिहासिक सफलता: नेपाल च्याम्पियन बनेर विश्वकपमा

मेचीकाली संवाददाता

१ कार्तिक २०८२, शुक्रबार
12 shares

बुटवल । नेपाली टोली आईसीसी टी–२० विश्वकपको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा स्थान बनाएपछि नेपाली क्रिकेटको चर्चा फेरि एकपटक चुलिएको छ । ओमानमा भएको आईसीसी टी–२० विश्वकप छनोटमा शीर्ष तीनमा रहेर नेपालले २०२६ मा छिमेकी भारत र श्रीलंकामा हुने दशौं संस्करणको टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको हो । नेपालले आईसीसीको आयोजनामा हुने प्रतियोगिताको उपाधि ११ वर्षपछि जितेको हो । यसअघि सन् २०१४ मा भएको डिभिजन ४ को उपाधि नै नेपालको पछिल्लो उपाधि थियो ।

ओमानमा सम्पन्न छनोट प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हरायो । नेपाली टोली छनोट प्रतियोगितामा आफूले खेलेको सबै ६ खेल जित्दै च्याम्पियन बनेको हो । अन्तिम खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो । छनोट प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठूलो स्कोर हो । निकै ठूलो लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको सामोआले भने निर्धारित ओभरमा सात विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।

यो छनोट प्रतियोगितामा एउटा रमाइलो संयोग पनि बन्यो । प्रतियोगितामा सबैभन्दा कम रन अन्तरको र सबैभन्दा बढी रन अन्तरको जीत दुवै नेपाली टोलीले निकाल्यो । सामोआविरुद्धको जीत सबैभन्दा ठूलो रन अन्तरको जीत हो । पहिले ब्याटिङको निम्तो पाएको नेपाललाई ओपनर ब्याट्सम्यान असिफ शेख र कुशल भुर्तेलले गतिलो शुरूआत दिएका थिए । दुवै ओपनरले ६३ रनको साझेदारी गरेका थिए । आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाए ।

२४ वर्षीय आसिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औं अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय रन पनि पूरा गरे । आसिफले टोलीका लागि ६९ रनको योगदान गरे । यस क्रममा उनले ४१ बलको सामना गरी चार छक्का र सात चौका हिर्काए ।
१३औं ओभरको पाँचौं बलमा आसिफ आउट हुँदा नेपालले एक सय १० रन बनाइसकेको थियो । अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए । कुशलले १५ बलमा एक छक्का र दुई चौका प्रहार गरे । उनी सातौं ओभरको चौथो बलमा आउट भएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएको दीपेन्द्रसिंह ऐरी पनि टोलीका लागि अर्धशतकीय योगदान गरे । उपकप्तानको भूमिकामा रहेका दीपेन्द्रले ५३ रन बनाए । यस क्रममा दीपेन्द्रले केवल ३३ बलको सामना गरी चार छक्का र दुई चौका पनि प्रहार गरे । १७औं ओभरको पाँचौं बलमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ६० रन बनाइसकेको थियो ।

चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेख भने नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी १४औं ओभरको अन्तिम बलमा तेस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । त्यतिबेला नेपालले एक सय २० रन बनाएको थियो । यसैगरी, पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि अविजित २१ रन बनाए । उनले केवल १२ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । दीपेन्द्र पेभेलियन फर्किएपछि उनको स्थान लिन आएका लोकेश बमले पनि आक्रामक पाली खेल्दै अविजित ३९ रनको योगदान गरे ।

लाकेशले केवल १२ बलमा चार छक्का र दुई चौका पनि हिर्काए । नेपालले अतिरिक्त रूपमा केवल तीन रन पायो । सामोआका बलर ड्यानियल बर्गेस, साउमानी तिआई, डारियस भिसेर र नोह मेडले एक–एक विकेट लिए । ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सामोआका लागि ओपनर सिन सोलियाले सर्वाधिक ३९ रन बनाए । लामो समय क्रिजमा टिकेका उनले ३५ बलमा एक छक्का र दुई चौका हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपाली टोलीका बलर ललित राजवंशीले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिए । करण केसीले पनि दुई विकेट लिए । कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले पनि एक विकेट कुम्ल्याए । नेपाली टोली प्रारम्भिक चरणको खेलबाट दुई अंकसहित प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको थियो । पहिलो खेलमा कुवेतलाई ५८ रन र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराउँदै नेपाली टोली समूह ‘बी’ को विजेता बनेको थियो ।

त्यसपछि नेपाली टोलीले ‘सुपर–६’ चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि एक रनको रोमाञ्चक जीत हासिल गरेको थियो । दोस्रो खेलमा पनि नेपालले कतारमाथि पाँच रनको अविश्वासिलो जीत हासिल गरेको थियो ।
यसैगरी, नेपाली टोलीले ‘सुपर–६’ चरणको आफ्नो तेस्रो खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हराएको थियो । यो छनोट प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली बन्न पुग्यो । नेपाली टोली ‘सुपर–६’ चरणको तालिकामा १० अंकसहित पहिलो हुँदै आगामी टी–२० विश्वकपमा पनि छनोट भयो । नेपाली टोली समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

यसैगरी, यो छनोट प्रतियोगिताबाट ‘सुपर–६’ चरणको तालिकामा दोस्रो हुँदै आयोजक ओमान पनि आगामी विश्वकपमा पुग्न सफल भयो । ओमानले आठ अंक बटुल्यो । ओमानको टोली नेपालसँग मात्र पराजित भयो । यसैगरी, अंक तालिकामा तेस्रो हुँदै यूएई पनि आगामी टी–२० विश्वकपमा पुग्न सफल भयो । यूएईले ६ अंक बटुल्यो । चौथो स्थानमा रहेको कतार, पाँचौं भएको जापान र छैटौं स्थानमा रहेको सामोआको भने विश्वकप खेल्ने सपना चकनाचुर भयो ।

कतारले चार र जापानले दुई अंक बटुले । सामोआ ‘सुपर–६’ चरणको सबैभन्दा कमजोर टोली बन्यो । सामोआले ‘सुपर–६’ चरणमा खेलेको चारवटै खेलमा पराजय ब्यहो¥यो । नेपालले यसअघि दुईपटक टी–२० विश्वकप खेले पनि छनोट प्रतियोगिताको उपाधि भने जित्न सकेको थिएन । आईसीसी टी–२० विश्वकपको आगामी संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितासँगै उक्त विश्वकपमा सहभागी हुने २० वटै टोलीको पनि टुङ्गो लागेको छ ।

भारतमा गएर भारतसँगै खेल्ने इच्छा छः कप्तान पौडेल
नेपालका कप्तान रोहित पौडेल भन्छन्, ‘भारतमा गएर भारतसँग खेल्न मन छ ।’ खेल पछिको पोस्ट म्याचमा रोहितलाई विश्वकप सम्बन्धी प्रश्न सोध्दा उनले भारत, अष्ट्रेलिया र इङ्ल्यान्डको नाम लिएका थिए। भारतको विरुद्धमा खेल्ने रहर छ । भारतमा भारतविरुद्ध खेल्न पाउनु निकै रमाइलो हुन्छ । ‘भारत र अष्ट्रेलियाविरुद्ध खेल्ने इच्छा छ । इङ्ल्यान्डले पनि निकै राम्रो गरिरहेको छ ।’
उनले प्रतिद्वन्द्वी छान्दा निकै बलिया प्रतिस्पर्धीको नाम लिए । उनले यो प्रतियोगिता अवधिभर नेपाली टिमको बलिङ र फिल्डिङ निकै राम्रो रहेको बताए । ‘हामीले बलिङ र फिल्डिङमा पुरै प्रतियोगिता निकै राम्रो गर्यौ ।’

उनले यो प्रतियोगिताभर प्रेसर रहेको तर आफ्नो टिमका खेलाडीले निकै राम्रो प्रदर्शन गरेको बताए । ‘पछिल्लो १५ दिन निकै प्रेसर भयो। तर जसरी केटाहरूले खेले निकै राम्रो खेले ।’ उनले प्रतियोगिता अवधिभर समर्थकले निकै साथ र समर्थन गरेको बताए । ‘समर्थक हाम्रो लागि ३/४ खेलमा निकै समर्थन गरे। प्रतियोगिता अवधिभर निकै समर्थन गर्नुभयो । अब भारतमा भेटौंला ।’ शुक्रबारको खेलमा प्लेअर अफ दी म्याच बनेका आसिफले भने, ‘प्रतियोगितामा टिमले निकै राम्रो खेल्यो । सबैले राम्रो गरे । टिम इर्फोटले गर्दा नै हामीले खेल जित्यौं ।’