एमाले रुपन्देहीको बृहत् कार्यकर्ता भेला, ‘परमादेश र अध्यादेश होइन, जनादेश ठूलो’

वर्तमान सरकार विकास विरोधी बन्दैछः ओली

मेचीकाली संवाददाता

३० भाद्र २०७८, बुधबार
589 shares

बुटवल । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा विग्रह ल्याउने र बेइमान गर्नेहरुले कम्युनिष्ट आन्दोलनमा कुनै अवरोध सिर्जना गर्न नसक्ने बताएका छन् । उनले माधवकुमार नेपालप्रति संकेत गर्दै विभाजन, बेइमानी र गद्दारी गरेर अध्यादेशबाट पार्टी गठन गर्ने र प्रतिक्रियावादीको पाउमा लगेर बुझाउने काम गरेको बताए । यसले बलियो जनाधार भएको एमालेको मूल प्रवाहलाई कुनै क्षति पु¥याउन नसक्ने र आफैँ छिट्टै पतन भएर जाने उनको दाबी थियो ।

नेकपा एमाले रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई बुधबार बुटवलको प्रस्तावित खुलामञ्चमा सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेश र अध्यादेशभन्दा जनादेश ठूलो भएको र त्यो जनादेश एमालेलाई प्राप्त भएको बताए । ‘विशाल जनाधार रहेको, देश विकासमा समर्पित र जनादेश प्राप्त पार्टी एमालेलाई कमजोर बनाउन लागेकाहरु प्रतिक्रियावादीहरु हुन् र त्यस्ता बेइमानहरुलाई जनताले नै ठेगान लगाउनेछन् ।’ ओलीको भनाइ थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैनथे,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन, माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।’

अध्यक्ष ओलीले माधव नेपालका कारण पार्टीले धेरै दुख पाएको पनि बताए । उनले कार्यकर्तालाई आग्रह गर्दै भने,‘अब पार्टीभित्रको पिलो निस्कियो, ढुक्क भएर काम गर्नुस्, पिलो निचोरेर शरीरको तौल घट्दैन, एकदुई जना बेइमानहरुले पार्टी छाड्दैमा एमाले कमजोर हुँदैन ।’

वर्तमान सरकार विकास विरोधी बन्दैछ
ओलीले वर्तमान सरकार विकास विरोधी भएको आरोप लगाए । ‘हाम्रो सरकारका पालामा भएका कामबाट अत्तालिएर विकासका काम रद्द गरेका छन्, हेरौं धरहरा पनि ढाल्ने होलान्, हेरौं रानीपोखरी पनि भत्काउने होलान्, हेरौं घण्टाघर र दरबार स्कुल पनि भत्काउने हेलान्,’उनले भने,‘हामी फेरि सरकारमा आएपछि फेरि निर्माणमा जुट्नेछौं ।’

अध्यक्ष ओलीले देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा बुटवल–नारायणघाट सडक, बुटवल–भैरहवाको सडक, सिद्धबावा सुरुङमार्गको प्रक्रियागत थालनी, भैरहवाको गौतमबुद्ध विमानस्थल, एअरपोर्ट र लुम्बिनीलगायतका ठाउँमा भइरहेका विकासका पूर्वाधार हेरे पुग्ने उल्लेख गर्दै जुन ठाउँमा गयो त्यहाँका एउटा एउटा मात्रै विकासका कामको चर्चा गरे पनि एमाले नेतृत्वको सरकारको पहिचान झल्किने बताए ।

झिंगाको होइन, मौरीको साथ रोज्नुस्
कम्युनिष्ट आन्दोलनलाई नै बदनाम बनाउन खोज्ने, विभाजन ल्याउन खोज्ने, प्रतिक्रियावादीको पाउमा लगेर उपलव्धि सुम्पिन खोज्नेहरु झिंगाजस्तै भएको भन्दै अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालहरुले त्यहीँ काम गरिरहेको बताए । ओलीले भने,‘मौरीको साथ लागेर जानुभयो भने बगैँचामा पुगिन्छ तर झिंगाको साथ लागे फोहोरको डङ्गुरमा पुगिन्छ त्यसैले एमाले कर्मी मौरीहरुले भरिएको पार्टी हो यसैको साथमा लाग्नुस् ।’

नेकपाकै निरन्तरता र अझ सुदृढ पार्टी हो एमाले
अध्यक्ष ओलीले एमाले एकीकृत पार्टी भएको र नेकपा कालिन अवस्थाको पार्टीभन्दा शक्तिशाली रहेको बताए । उनले नेकपालाई अदालतले नाम मात्रै फेर्न भनेको तर एकता भंग नगरेको भन्दै अहिलेको एमाले नै एकीकृत कम्युनिष्ट पार्टी रहेको दाबी गरे । माओवादी आन्दोलनमा रहेका धेरै नेता, कार्यकर्ता एमालेमा रहेकाले यो नेकपाकै निरन्तरताको कम्युनिष्ट पार्टी रहेको ओलीको भनाइ थियो । ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान दिएका साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’ उनको भनाइ थियो ।

अध्यक्ष ओलीले माओवादीमा रहेका बाँकी नेता–कार्यकर्ताहरुलाई पनि एमालेमा आउन आग्रह गरे । ‘एमाले संगठन निर्माण गर्ने कुरामा गुरु पार्टी भएको, देश विकासको प्रष्ट र सही भिजन भएको पार्टी हो, कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो आउनुहोस् सहकार्य गरौं, अभियान अगाडि बढाऔं ।’ ओलीको आग्रह छ ।

पार्टीबाट केही स्वार्थी तत्व बाहिरिएका छन्: विष्णु पौडेल
पार्टीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी विभाजन नभएको बरु केही स्वार्थी र बेइमानीहरु मात्रै बाहिरिएको बताए । नेता पौडेलले भने,‘अप्राकृत्तिक अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजियो तर त्यसले एमाले विभाजन भएको छैन बरु पार्टीबाट केही स्वार्थी तत्वहरु बाहिरिएका मात्र हुन् ।’

उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई वैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दावी गरे । उनले भने,‘यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि माधव नेपालसहितको स्वार्थी झुण्डलाई लिएर अलग पार्टी बनाएको आरोप लगाए । अहिले प्रतिपक्षमा रहेपनि आगामी निर्वाचनपछि फेरि सरकारमा पहिलो पार्टीको साथ सरकारमा आउँछौँ ।’ नेता पौडेलले ओली नेतृत्वको सरकारले ल्याएको बजेट सरकारले प्रतिस्थापन गरे पनि पास हुन नसक्ने दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दोहोरो चरित्र देखाएका कारण संसद चल्न नसकेको आरोप लगाए ।

एमाले अझ सुदृढ बन्छ र माधव नेपालहरु पनि आउँछन्: घनश्याम भूसाल
नेकपा एमालेका उपमहासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालले समाजवादको संकल्प र लक्ष्यका साथ एमाले अगाडि बढेको उल्लेख गर्दै पार्टी अझ शक्तिशाली र सुदृढ बन्ने बताए । पार्टी विभाजन भएपनि ठूलो शक्तिका रुपमा एमाले नै रहेको र मुलुकमा अरु कुनै शक्ति एमालेको हाराहारी हुनै नसक्ने बताए ।

lhNnf :t/Lo sfo{stf{ e]nf a’6jndf a’waf/ cfof]lht g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf] ?kGb]xL lhNnf :t/Lo cu’jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ :yfoL sld6L ;b:o 3gZofd e’;fn . tl:a/ M lg/f uf}td÷/f;;

भूसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौँ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेको जस्तो देखिएका छौं तर धुलो टक्टकाएर उभिएर सशक्त बनिसकेका छौं ।’ उनले पार्टी विभाजन गएर गएका माधवकुमार नेपालले पनि आत्मसमिक्षा गर्नुपर्ने बताए । यहीँ कुरा माधव नेपाललाई बताउन सकेनौं । उहाँ आफैँले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नुभएन ?’ उनले भने । उनले महाधिवेशनपछि एमाले सांगठनिक रुपमा अझ व्यवस्थित र शक्तिशाली हुने दाबी गरे ।

एमाले बलियो जनमतका साथ फेरि सरकारमा आउँछ: रायमाझी
नेकपा एमालेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेकपा एमाले फेरि बलियो जनमतका साथ सरकारमा आउने र अधुरा रहेका कामलाई निरन्तरता दिने बताए । नेता रायमाझीले आफूहरु फेरि एकपटक ‘टेस्ट’ हुन आवश्यक रहेको बताए । ‘लोकतान्त्रिक चुनावको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनुपर्छ । एमालेले जनमत लिएर पुनः सत्तामा आउने छ र यो देश विकासका लागि जरुरी पनि छ ।’

विगतमा देशको नेतृत्व गरिसकेका र पार्टीको नेतृत्व गरिसकेका असफल नेताहरुले देशी–विदेशी तत्वको सहारामा जति नै ठूलो महागठबन्धन बनाए पनि त्यो एमालेका सामु टिक्नै नसक्ने नेता रायमाझीको दाबी थियो । संसद् पुनस्र्थापना भएपछि पनि संसद्मा फेरि केपी ओलीकै बहुमत आउने देखेपछि सीमा पारिदेखि मात्रै नभई समुन्द्रपारिदेखि डिजाइन गरेर परमादेश जारी गरिएको नेता रायमाझीको दाबी थियो ।

विभाजनको पछि लाउनेहरु पछुताउनेछन्: विश्वकर्मा
एमालेका अर्का नेता छविलाल विश्वकर्माले विभाजनको पछि लागेका कुनै पनि नेता कार्यकर्ताहरु छिट्टै पछुतोमा पर्ने र मूलधारमै फर्किने दाबी गरे ।

नेकपा एमालेको नेतृत्वमा देशमा विकास र समृद्धिका काम अघि बढेको उल्लेख गर्दै नेता विकले त्यो देखेर देश विरोधी तत्वले षड्यन्त्र गरी ओली नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

रुपन्देहीको एमाले एकताबद्ध र सुदृढ: सुवेदी
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले रुपन्देहीको एमाले एकताबद्ध र सुदृढ रहेको बताए । जिल्ला कमिटी २०७५ जेठ २ गतेकै अवस्थाको कमिटीमा रुपान्तरण भएपछि यो विशाल कार्यकर्ता भेला भएको र अझ सुदृढ बनेको अध्यक्ष सुवेदीको भनाइ छ ।

उनले एमाले लुम्बिनी प्रदेश कमिटीको हालै बुटवलमा सम्पन्न बैठकको निर्णय र सोहीअनुसारको सर्कुलरअनुरुप रुपन्देहीको पार्टी कमिटी अगाडि बढेको बताए । उनले पार्टी नेकपा कालको भन्दा अझ शक्तिशाली र विशाल भएको बताए । पार्टीमा हजारौं कार्यकर्ता थपिएको र अझ आकर्षण बढिरहेको उनको भनाइ थियो । बुधबारको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौं जना एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले रुपन्देहीका १० हजार कार्यकर्ताको सहभागिता थियो । उक्त कार्यकर्ता भेलाको सञ्चालन एमाले रुपन्देही जिल्ला सचिव जागेश्वरदेवी चौधरीले सञ्चालन गरेकी थिइन् ।