बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयमा क्रियाकलापमा आधारीत शिक्षण बिधिः सिकाई मेला–२०८२ सम्पन्न भएको छ । बिद्यार्थीहरुको सिक्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलोपटक यस्तो मेला आयोजना गरीएको विद्यालयले जनाएको छ ।

सिकाई मेलाका मुख्य प्रशिक्षक तथा सहजकर्ता अर्जुन भट्ट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बनले संयुक्त रुपमा सिकाई क्रियाकलाप मार्फत् उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले कक्षा कोठामा रहेका विद्यार्थीहरुको सिक्नसक्ने क्षमता पनि फरकफरक हुने भन्दै फरकफरक क्षमताका सबै विद्यार्थीहरुको क्षमता विकास गरी अब्बल बनाउने र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मेला आयोजना गरीएको बताए । साथै उनले आध्यात्मिक शिक्षा तथा पञ्चशीललाई ग्रहण गर्दै विद्यार्थीहरुलाई नैतिकवान बनाउने र संस्कार सहितको शिक्षा प्रदान गर्ने विद्यालयको मुख्य ध्येय रहेको बताए ।
प्राचार्य ज्ञवालीका अनुसार कार्यक्रममा कक्षा १, ३, ५ र ७ कक्षामा अध्ययनरत ७५० जना विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । बिद्यार्थीहरुलाई २२ वटा समूहमा बिभाजन गरी बिभिन्न ६ चरणमा १३२ वटा सिपमुलक तथा मनोरञ्जनात्मक क्रियाकलाप गराईएको थियो । पाँचौ चरणसम्म विद्यार्थीहरुलाई सिकाई क्रियाकलाप गराईएको थियो भने अन्तीम छैठाँै चरणमा अभिभावकहरुलाई मनोरञ्जनात्मक खेल खेलाईएको थियो ।

विद्यालयका अध्यक्ष बनले विद्यालयको प्रगति दिनप्रतिदिन चुलिदो रहेको बताए । विद्यार्थीहरुले असफलताबाट पनि धेरै कुरासिक्न सक्ने भन्दै उनले आफm्नो मिहेनतलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने गरि पठन पाठन गराउदै आएको अध्यक्ष बनले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बिद्यार्थीहरुको सिकाई अभिबृद्धिका लागि यस्तो मेला उपलब्धीमुलक देखिएको भन्दै यहाँका अन्य विद्यालयहरुले पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । यस्तै समिक्षक तथा प्रा.डा.गणेश पाठकले सिकाईका लागि योमेला अत्यन्तै महत्वपूर्ण रहेको बताए । बिद्यार्थीहरुले कक्षाकोठामा सुनेर ५–१० प्रतिशत मात्र सिक्न सक्ने भन्दै उनले रमाइलो वातावरणमा यस्ता क्रियाकलापबाट सिकेको कुरा जीवनभर सम्झिन सक्ने बताए । कक्षा कोठामा पनि शिक्षकहरुले यस्ता क्रियाकलापहरुलाई समाबेश गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तैगरी मेलामा सहभागी विद्यार्थीहरु आरुयू नेपाल, प्रकृति भट्ट, मेरिडा मल्ल, अभियान खनाल लगायतले बोल्दै यो मेलामा सहभागि हुँदा उत्साहित भएको बताए । कार्यक्रममा बिद्यार्थीहरुले राष्ट्रिय गान, नगर गान, पञ्चशिल, वेद मन्त्र प्रस्तुत गरेका थिए । बिद्यालयमा १६० जना शिक्षक कर्मचारी तथा २ हजार बढी बिद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा प्रान्जु अर्यालले गरेकी थिइन् ।

