तरकारीसहित पशुजन्य पदार्थमा नवलपरासी परनिर्भर

मेचीकाली संवाददाता

२१ कार्तिक २०८२, बिहीबार
4 shares

हरि शर्मा

परासी । तरकारीसहित पशुजन्य पदार्थमा नवलपरासी जिल्ला बाहिरकै भर पर्नुपर्ने बाध्यता रहेको तथ्याङ्कले देखाएको छ । खाद्यान्न र फलफूलमा भने जिल्ला आत्मनिर्भर छ ।

खाद्यान्नमध्ये चामल, गहुँ र मकै जिल्लाबासीले उपयोग गरेर पनि बचत हुने गरेको छ । केरा उत्पादन बढी हुने भएकाले फलफूलमा आत्मनिर्भर देखिएको छ । तर, तरकारीसहित दाल र तेलमा भने बाहिरकै भर पर्नुपरेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले जानकारी दिए । पशु उत्पादनका सबै पदार्थमा भने जिल्लाबासीले बाहिरकै आपुर्तिबाट धान्नु परेको छ । अन्डा, मासु, माछा, दूधलगायतका पशुजन्य पदार्थमा जिल्लाको उत्पादन अपुग रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख (मत्स्य विकास निर्देशक) दिपक भुसालले जानकारी दिए ।

खाद्यान्नतर्फ धान, गहुँ र मकैको कुल उत्पादन १ लाख ३५ हजार ५८ मेट्रिकटन रहेको छ । जिल्लाको जनसंख्याअनुसार आवश्यक खाद्यान्न ७३ हजार १५७ मेट्रिकटन खपत हुने गरेको छ । १४ हजार ४१३ मेट्रिकटन बचतमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले बताए ।
फलफूल ३९ हजार ८५२ मेट्रिकटन उत्पादन हुने गरेको छ । जसमा १२ हजार १२५ मेट्रिकटन खपत भई २७ हजार ७३० मेट्रिकटन बचत रहेको छ । केराको प्रतिशतले आत्मनिर्भर देखिएपनिे अन्य फलफूलको उत्पादन न्यून छ ।
त्यसैगरी तरकारीमा १६ हजार ७१३ मेट्रिक टन अपुग छ । दलहन (दालबाली) ६ हजार ५९७ र तेलहन (तेलबाली) ५ हजार ८ मेट्रिक टन अपुग रहेकाले बाहिरकै भरपर्नु परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दुधदेखि मासुसम्म सबै बाहिरकै भर
पशुजन्य सबै पदार्थमा जिल्ला परनिर्भर रहेको छ । राष्ट्रिय तथ्याङ्कअनुसार एकजना व्यक्तिलाई वार्षिक १४ केजी मासु आवश्यक रहेकोमा नवलपरासीको उत्पादनले प्रति व्यक्तिलाई ११ केजी मात्र पुगेको छ । बाँकी ३ केजी बाहिरबाटै आएकाले पूर्ति गर्नुपर्ने अवस्था रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भुसालले जानकारी दिए । त्यस्तै ४८ गोटा अण्डा आवश्यकमा जिल्लाको उत्पादनले अझै २९ गोटा अपुग छ ।

त्यसैगरी ९१ लिटर दुध आवश्कतामा जिल्लाको उत्पादनले ७१ लिटर मात्र पुगेको छ । बाँकी २० लिटर बाहिरकै भर पर्नुपरेको छ । माछामा वार्षिक ४ केजी एक व्यक्तिलाई अपुग छ । साढे सात केजी माछा आवश्यक हुनेमा जिल्लाको उत्पादनले साढे ३ केजी मात्र धानेको कार्यालय प्रमुख भुसालको भनाइ छ ।