चुनावको वातावरण बनाऊ

मेचीकाली संवाददाता

२१ कार्तिक २०८२, बिहीबार
10 shares

देश अहिले राजनीतिक अस्थिरता, अविश्वास र प्रतिशोधपूर्ण व्यवहारका कारण गम्भीर मोडमा पुगेको छ । संविधानले तोकेको निर्वाचनको समय नजिकिँदै जाँदा सरकार निर्वाचनप्रति प्रतिबद्ध देखिनुपर्ने बेला उल्टै राजनीतिक शक्तिहरूबिच अविश्वास, आरोप र प्रतिरोधको वातावरण बढ्दो छ । लोकतन्त्रको आत्मा नै प्रतिस्पर्धा र जनमतमा विश्वास हो, तर सत्ता र प्रतिपक्षबिचको संवाद र सहकार्यको अभावले प्रणालीप्रतिको जनआस्था कमजोर बनाउँदै लगेको छ । राजनीतिक अस्थिरता र अलमलले फेरि पनि मुलुकलाई असहजताको बाटोतिर धकेलिरहेको छ ।

निर्वाचन कुनै दलको इच्छा होइन, संविधानले अनिवार्य गरेको प्रक्रिया हो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि चुन्न पाउने वैधानिक बाटो हो निर्वाचन । त्यसको तयारी नगरी, विपक्षी दल र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गर्नु लोकतान्त्रिक उत्तरदायित्वको उल्लंघन हो । अहिलेको अन्तरिम सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नु राम्रो हुँदैन । अहिले देशमा देखिएको अशान्ति, सामाजिक सञ्जालको दुरुपयोग, आन्दोलनमा घुसपैठ र हिंसात्मक घटनाले जनताको विश्वासमा चोट पु¥याएको छ । दोषीलाई कानुनको दायरामा ल्याई निष्पक्ष छानबिन गर्नु अपरिहार्य छ ।

भदौ २३ र २४ गते निर्दोश र निहत्था नागरिकको हत्या गर्ने, शान्तिपूर्ण भनिएको आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउने र मुलुकलाई लगभग तहसनहस पार्ने जुन अपराधपूर्ण कुकर्म भयो यसमा संलग्नलाई निश्पक्ष छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । समस्या समाधानको बाटो भने विभाजन र द्वेष होइन, सहमति र संवादबाट मात्र सम्भव छ । लोकतान्त्रिक गणतन्त्रको मर्म भनेकै फरक विचारलाई पनि समेट्ने क्षमता हो । अहिले आवश्यक छ–सत्ता र प्रतिपक्षबीच आपसी विश्वास पुनःस्थापना, संविधानको मर्मअनुसार निर्वाचनको तयारी र जनताप्रतिको जवाफदेहीता ।

विभिन्न समयमा भएका आन्दोलनमा ज्यान गुमाएका सहिदहरूले देखाएको समृद्ध र समुन्नत नेपालको सपना, परिवर्तनका मूल आदर्श र लोकतन्त्रको मूल्य जनताले अनुभूत गर्न पाउनुपर्छ । पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाहीको सुनिश्चितता लोकतान्त्रिक समाजको पहिचान हो । देश आर्थिक र सामाजिक रुपान्तरणको चरणमा छ तर त्यसका लागि राजनीतिक स्थायित्व अनिवार्य छ । यस संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिने बाटो भनेको पारदर्शिता, राजनीतिक इमानदारी र जनमतको सम्मान हो, संविधानसम्मत उपायको खोजी हो । लोकतन्त्रको बल जनताको विश्वासमा निहीत हुन्छ भन्ने कुरालाई सबैले हेक्का राख्न जरुरी छ । त्यसैले अबको प्राथमिकता सत्ता होइन, देशको स्थायित्व र जनताको भरोसा पुनःस्थापना हुनुपर्छ । यही बाटोले मात्र परिवर्तनको असली अनुभूति दिलाउन सक्छ । चुनावको उचित वातावरण बनाउन सरकारसँग हाम्रो आग्रह छ ।