बुटवलमा खुलामञ्चको खाँचो

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
725 shares

वर्षेनी बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीव्र रुपमा मासिइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले खुलामञ्च बनाउन लागेको छ । सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्थामा बुटवलको सबैभन्दा धेरै जनसंख्या रहेको वडामा खुलाचौर संरक्षण गरेर खुलामञ्च बनाउन लागेको छ । यो स्वागतयोग्य काम हो । यसको पूर्ण सफलताको कामना छ ।

बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि यहाँका सार्वजनिक जग्गाको संरक्षण गर्ने निर्णय गर्दै सोहीअनुरुप काम हुँदै आएको छ । नदी उकासको जग्गामा सुकुम्बासीका नाममा चौतर्फी अतिक्रमण भइरहेका बेलामा सार्वजनिक जग्गाको संरक्षण गर्नु चुनौतीपूर्ण विषय हो । राज्यका निकायभन्दा शक्तिशाली जस्तो देखिने आपराधिक र अनेक नाममा जत्थालाई नियन्त्रण गरेर सार्वजनिक हितका काम गर्न पनि चुनौतिपूर्ण नै छ । चुनौतिको सामना गर्दै समुदायको सहयोग र सहकार्यमा उपमहानगरले यो महत्वपूर्ण र बुटवलको गौरवका रुपमा रहेको योजनालाई साकार पार्न सफल रहोस् ।

बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनेको छ र गुरुयोजनाअनुरुपका काम छिट्टै सुरु हुनेछन् । बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको ११ नं.वडामै खुलामञ्च निर्माण हुने भएको छ । कुनै पनि विपद् वा प्रकोपका समयमा उद्दारका लागि खुला ठाउँको अभाव छ । अहिलेकै कोरोना महामारीमा क्वारेन्टिन र आइसोलेसन बनाउन ठाउँको अभाव भयो । यहीँ अवस्थासमेतलाई मध्यनजर गर्दै उपमहानगरले दूरगामी सोंचका साथ खुलामञ्च बनाउन लागेको हुनसक्छ ।

बुटवलले तयार पारेको आवधिक र दीर्घकालीन महत्वका योजनाहरु अहिले कार्यान्वयनको चरणमा छन् । यी योजनाहरु साकार हुँदा बुटवलको स्वरुप अझ सुन्दर हुनेछ । मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको यो ऐतिहासिक बुटवल नगरी पर्यटकीय विश्राम स्थलका रुपमा समेत विकास हुनेछ । सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा यहाँ भइरहेका विकास निर्माण वास्तवमै मुलुकमै उदारहणीय बनिरहेका छन् ।

अतिक्रमण हुने जोखिममा रहेको र कतिपय ठाउँमा अतिक्रमणसमेत भइसकेको करिब १४ विगाह क्षेत्रफललाई गुरुयोजना बनाएर खुलामञ्च बनाइने छ । जहाँ एक लाख जना एकैपटक जम्मा हुन मिल्ने छ र विभिन्न कार्यक्रम गर्न सकिनेछ । बहुउद्देश्यीय खुलामञ्च निर्माण कार्य चाँडो सुरु होस् र निर्धारित समयमै निर्माण सम्पन्न होस् । बुटवलका हरेक योजना साकार पार्न बुटवलबासी सचेत नागरिक बैको सहकार्य र सहयोगको समेत खाँचो छ ।