स्वास्थ्यका लागि योग र आयुर्वेद

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
708 shares

कोभिडको महामारीका बेलामा योग, ध्यान, प्रणायन गर्ने र आयुर्वेद ओखती सेवन गर्दा संक्रमण जितेका समाचार खुबै प्राथमिकतामा आए । बुटवलका आइसोलेशन सेन्टर र क्वारेन्टिनहरुमा योग सिकाउने गुरु र उपमहानगर आफैँले आयुर्वेद ओखती संक्रमितको घरघरमा निशुल्क पु¥यायो । वैकल्पिक चिकित्सा अर्थात् आयुर्वेद र योगलाई महत्व दिँदै अहिले देशैभरि विभिन्न अभियान सञ्चालन भएका छन् । यो स्वागतयोग्य र अति नै महत्वपूर्ण पक्ष हो ।

हजारौँ वर्षपछि अहिले योगको क्षेत्रमा पुनर्जागरण सुरु भएको छ । सुरुमा नेपालबाटै योग र आयुर्वेदको विकास र विस्तार भएको भएपनि यसलाई हामीले प्रचार गर्न सकेनौं । हिमतव् खण्डमा रहेको नेपालबाटै ऋषिमुनीहरुले योग र प्राकृतिक चिकित्साको सुरुआत गरेका थिए भन्ने कैयन् प्रमाण रहेका छन् । तर, विडम्बना नेपालले आफ्नो पेटेन्ट राइट लिन सकिरहेको छैन । हालै प्रधानमन्त्री बनेका बेलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले योग र आयुर्वेदको विस्तार गर्नेलगायतका बारेमा विशेष पहल कदमी लिनुभएको थियो । उहाँको सरकारलाई पनि बीचैमा अप्राकृतिक तरिकाले बहिर्गमन गरियो । खासमा योग र आयुर्वेदको विस्तार गर्न जरुरी छ ।

हिमाली उपमहाद्वीपमा शिव संस्कृतिको विशिष्ट अंगको रुपमा योगदर्शनको जन्म भएको योगगुरुहरुको भनाइ छ । आधुनिक औषधि विज्ञानले परम्परागत वास्तविक स्वास्थ्य विज्ञान अर्थात् योग र स्वास्थ्यको सम्बन्ध के हो भन्ने कुरा मानिसले बिर्सिँदै गएको अवस्था थियो । जनताको रोग डाक्टरको व्यापार बन्दै गएको यो अवस्थामा योगमा पुनर्जागरण आउनु महत्वपूर्ण कुरा हो । हाम्रो भूमिमा हाम्रै ऋषिमुनीहरुले सुरु गरेको योगलाई अझ विस्तार गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने छ । मानिस शरीर, मन र चेतनालाई योगका विविध साधनाले संयमित, स्वस्थ सशक्त बनाएर हाँसीहाँसी सय वर्ष बाँच्ने जीवन पद्धति विकसित गरेको थियो योगले ।

हाम्रा पूर्वजहरु योगमा खुब चासो राख्ने गरेको पाइन्छ । पूर्वजहरुले अपनाएको यो स्वस्थ अभियानको प्रभावकारी अभियानलाई अहिलेको पुस्ताले पनि अवलम्बन गर्न अपरिहार्य छ । अहिलेको यो व्यस्त समयमा त्यसैपनि खानपानको सही रहनसहन मिलेको हुँदैन । अनेक प्रकारका तनावले मनमा विकार बढ्दै गएको हुन्छ । यस्तो विकारको अन्त्यका लागि पनि योग एउटा महत्वपूर्ण माध्यम हो । औषधि लेखेर सिफारिस गर्ने डाक्टरहरुले समेत योगा गर्नुस् भन्दै अर्ति दिन थालेको पाइन्छ । यो नै पुनर्जागरणको एउटा महत्वपूर्ण संकेत हो । योग विज्ञानको उत्थान सिंगो मानव जातिका लागि अपरिहार्य छ ।