बुटवलमा शून्य फोहोरको अवधारणा

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
839 shares

फोहोरको प्रकृति अलग अलग गरेर जैविक मल बनाउने र बहुउपयोग गर्ने बारेमा बल्ल चासो जान थालेको छ । यद्यपि काम भने कहिले हुने हो टुंगो छैन । हाम्रो प्रवृत्तिलाई बदलेर नयाँ ढंगले अगाडि बढ्न पहल सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँगको सहकार्यमा शून्य फोहोरको अवधारणालाई साकार पार्न लागेको छ । यो ज्यादै नै सकारात्मक र उदाहरणीय काम हुनेछ ।

हामीकहाँ यसप्रकारका काम सुरु नहुँदै विरोध हुने, अनावश्यक माग राख्ने र अवरोध सिर्जना गर्ने प्रवृत्ति छ । यसप्रकारको प्रवृत्तिले विकास निर्माणका धेरै काममा अनावश्यक मुआब्जा खर्चिनुपरेको छ । अब नयाँ ढंगले योजनालाई अगाडि बढाउनुपर्ने छ । बुटवल–सैनामैनामा अगाडि बढाइएको शून्य फोहोरको अवधारणाले मूर्त रुप लिन सकोस्, दुवै पालिकाका जनस्तरबाट सहयोग र सहकार्य हुन सकोस् ।

घरैदेखि नै फेहोरको प्रकृति अलग अलग गरेर राख्नुपर्नेमा सहरबासीहरु कसैले पनि त्यसो गरेको पाइँदैन । सड्ने र नसड्ने फोहोरलाई घरैदेखि नै अलग अलग भाँडोमा राखेर व्यवस्थापन गर्नेतर्फ अब कडाइका साथ लागू गर्नुपर्ने छ । कुहिने फोहोरबाट जैविक मल बनाउने, कम्पोष्ट मल बनाउन सकिने हुँदा प्लाष्टिकसँग बेरेर राख्दा त्यो त्यसै खेर गइरहेको छ । अब उचित प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्नेतर्फ ध्यान बढाउनुपर्ने छ ।

प्राविधिक, वातावरणविद् र यस्ता विषयमा जानकारहरुले पनि यो अभियानलाई प्रभावकारी बनाउन सकिरहेका छैनन् । वैकल्पिक उर्जा र जैविक मल उत्पादन गरेर त्यसबाट आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । तर, हामीकहाँ त्यतातिर पनि चासो गएको छैन । बरु विरोधका अनेकौं हतकण्डा र उपाय अपनाएर विरोध गर्न तम्सिन्छौं । विरोधका लागि विरोध गर्छौं र आफ्नो घरको फोहोरलाई आफैलाई अलग अलग गरेर राख्दैनौं ।

काम सुरु नहुँदै विरोध हुने र कुरै नबुझी विरोधका लागि विरोध गर्ने, भड्काउने प्रवृत्तिले पनि हाम्रा कैयन् विकास निर्माणका कामहरु प्रभावित भइरहेका छन् । यसले तयारी भइरहेका कैयन् योजनामा अवरोध सिर्जना हुँदा लागत खर्च बढ्ने र तोकेको समयमै काम फत्ते नहुने अवस्था छ । यसर्थ अब यस्ता बानी पनि फेर्नुपर्ने छ । झण्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएपनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेलामा यी नगरले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन् । फोहोरको प्रभावकारी व्यवस्थापनका लागि सुरु भएको कामले सफलता पाओस् ।