एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक निरन्तर अवरूद्ध

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
782 shares

बुटवल । प्रमुख प्रतिपक्ष नेकपा एमालेले लुम्बिनी प्रदेशको बिहीबार बैठक पनि अवरुद्ध गरेको छ । नयाँ सरकार गठन भएसँगै लुम्बिनी प्रदेशसभा चल्न सकेको छैन ।

सुर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । बिहीबार पनि सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सभामुखले संसद शुरु गरे लगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषि मन्त्री एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् । पौडेलले बोले लगत्तै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर रोष्ट्रम घेर्न पुगेका थिए । बैठक केही बेरका लागि स्थगित भएको छ ।