एनपीएलमा लुम्बिनी लायन्सको सुखद सुरूआत

मेचीकाली संवाददाता

५ मंसिर २०८२, बिहीबार
9 shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । बिहीबार भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा भने लुम्बिनिसँग पराजित भयो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोरा २८, डार्सी सर्ट ११, दीलिप नाथले १० रन जोडे । जेजे स्मित ४ रनमा अविजित रहे । त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रन बनायो ।

माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको चितवनका लागि अनुभवी खेलाडी रवि बोपराले अर्धशतकीय योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ६६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ५५ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । कप्तान कुशल मल्लले पनि टोलीको खातामा २१ रन थपे । पाँचौं नम्बरका ब्याट्सम्यान मल्लले १८ बलमा एक छक्का पनि प्रहार गरे ।

चितवनका दुवै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । डेभिड मलान पहिलो बलमै आउट भए भने अर्का ओपनर दीपक बोहरा पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान देव खनाल पनि केवल १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १९ बलमा एक छक्का प्रहार गरेका थिए । छैटौं नम्बरमा क्रिज समाल्न आएका सेफ जेबले टोलीको खातमा १५ रन थपे । उनले केवल सात बलमा एक छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद आठ रनमा अविजित रहे । सोहेल तनवीर पाँच रन बनाउँदै अन्तिम ओभरको अन्तिम बलमा आउट भए । चितवनले अतिरिक्त रूपमा केवल तीन रन पायो ।

लुम्बिनी लायन्सका बलर रुवेन ट्रम्पलम्यानले तीन विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । अभिषेश गौतमले पनि दुई विकेट हात पारे । गुलबदिन नाइबले पनि दुई विकेट कुम्ल्याए । एनपीएलको दोस्रो संस्करणमा चितवन राइनोजले आफ्नो दोस्रो खेल खेलेको हो । यस्तै शुक्रबार पोखरा एभेन्जरर्स र सूदुरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।