आज विश्वकर्मा पूजा

मेचीकाली संवाददाता

१ आश्विन २०७८, शुक्रबार
620 shares

बुटवल । आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरेर विश्वकर्मा पर्व मनाइँदै छ । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै विशेष पूजासमेत गरिन्छ । आजका दिन आफ्नो मेसिन तथा फलामे औजारहरुको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनबिश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ ।

विश्वकर्मा पूजाको अवसरमा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ । आजको दिन आफ्ना मेसिन र मेसिनजन्य सामानहरुलाई राम्रोसँग सफा गरी पूजा गर्ने गरिन्छ ।

देशका विभिन्न भागमा रहेका शिल्पकार, व्यापारी, कलाकार र मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायातलगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गदर्छन् ।