भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ४ महिनाको तथ्यांकले फेरि एकपटक हाम्रो खाद्य सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । यस अवधिमा मात्र १० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको धान–चामल आयात भएको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ९६ करोड रुपैयाँभन्दा झण्डै ४ अर्ब बढी हो । देशभर खेतीयोग्य जमिन घट्दै गएको, उत्पादन लागत बढेको र आधुनिक प्रविधिमा पहुँच अभाव हुँदा यसको सीधा असर आयात निर्भरता बढेर देखिएको स्पष्ट छ ।
करिब ९ करोड ६९ लाख किलो धान आयात हुँदा ३ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । बासमती चामल २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी र अन्य चामल ४ अर्ब ४० लाख रुपैयाँको आयात हुनु भनेको नेपालको कृषि क्षमतामाथि चुनौती हो । यी तथ्याङ्कले देखाउँछन्–हामी उत्पादन गर्न सक्ने वस्तुमा नै वर्षेनी अरबौँ रुपैयाँ बाहिर पठाइरहेका छौँ । कृषि उपजमा अन्तरनिर्भर हुँदै विस्तारै आत्मनिर्भर बन्नेतर्फ केन्द्रित बनौं । खेतबारी बाँझो नराखौं, हरियो धनियाँ र खुर्सानी भएपनि रोपौं ।
अब सवाल उठ्छ–समाधान कहाँ छ ? पहिलो, सरकारले भू–उपयोग नीतिलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्छ । उर्बरा जमिनलाई घरजग्गा, प्लटिङ र उद्योग विस्तारको नाममा विनास गर्ने प्रवृत्ति रोकिएन भने आत्मनिर्भरता केवल नारामै सीमित रहन्छ । दोस्रो, धान उत्पादनमा ‘उन्नत बिउ, सिँचाइ, मेसिनरी र वैज्ञानिक खेती प्रणाली’ लागू गरेर लागत घटाउनुपर्छ । सिँचाइको अभावले वर्षेनी रोपाइँ प्रभावित हुँदै आएको छ । यसको यथाशीघ्र दीर्घकालीन समाधानका उपाय खोजौं ।
तेस्रो, किसानलाई बजारको ग्यारेन्टी चाहिन्छ । न्यूनतम मूल्य समर्थन, सहकारीमार्फत खरिद, भण्डारण तथा प्रशोधन उद्योगको विस्तारले किसानलाई सुरक्षित बजार दिन सक्छ । चौथो, सरकारले आयात नीतिमा पुनरावलोकन गर्दै घरेलु उत्पादनलाई प्रतिस्पर्धी बनाउने कर तथा प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता छ ।
देशको खाद्य सुरक्षासँग जोडिएको धान–चामल जस्तो संवेदनशील वस्तुमा बढ्दो आयात केवल आर्थिक घाटा होइन, कृषिमाथिको निर्भरता कमजोर हुँदै गएको संकेत पनि हो । अब निर्णय स्पष्ट चाहिन्छ–हामी आत्मनिर्भर हुन चाहन्छौँ कि अरूको खेतमा उत्पादन भएको चामलमै टिको लगाइरहने ? स्वदेशी उत्पादन बढाउने, किसानलाई सम्मानजनक आय दिने र कृषि आधुनिकीकरणमा लगानी गर्ने नै अबको प्रमुख काम हो । आयात घटाउन आजको भोलि नै तत्काल सम्भव नहोला । तर, उत्पादनका क्षेत्रलाई सक्रिय नबनाएसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन ।
