बुद्धटोल विकास संस्थाको दोस्रो साधारण सभा सम्पन्न

राजेन्द्र कुमार थापाकाको नेतृत्वमा नयाँ कार्यसमिति

मेचीकाली संवाददाता

२ आश्विन २०७८, शनिबार
411 shares

बुटवल । बुटवल उपमहानगरपालिका–७ स्थित बुद्धटोल विकास संस्था शिवनगरको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षता, बुटवल उपमहानगरपालिका–७ का अध्यक्ष कमलप्रताप थापाको प्रमुख आतिथ्यता तथा बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य सीता थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका–७ का अध्यक्ष थापाले संस्थाले समाजमा राम्रो काम गरेर उदारणीय संस्था बन्न सफल भएको बताए । संस्थाले अगाडी सारेका बिभिन्न योजनाहरु, रोजगारमूलक कार्यक्रम लगायतका सम्पुर्ण कामहरुमा वडा र उपमहानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफु सधै जनताको साथमा रहेको पनि स्पष्ट पारे ।

वडा अध्यक्षमा निर्वाचित भएर आएपछि जनताको अपेक्षा अनुसार सबै काम पुरा गर्न नसके पनि यो बीचमा धेरै कामहरु सम्पन्न गर्न सफल भएको बताए । ‘हामी आएपछि खानेपानीमा केही सहजता भएको छ । हिल पार्कको विकास, सडक, नाली निर्माण, स्कुल निर्माण गरेका छौँ । खेल मैदान स्तरोन्नति गरेका छौँ ।’ उनले भने । सीपमूलक र रोजगारमूलक तालिमहरू पनि सञ्चालन गरेको उनले बताए ।

विशिष्ट अतिथी बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य सीता थापाले संस्था स्थापना गर्दाको समय र आफु स्वयम अध्यक्ष भएर काम गर्दाको अबस्थालाई स्मरण गर्दै संस्थालाई अझै उचाइमा लैजानको लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताइन् । साथै उनले आफूले संस्थालाई जुनसुकै समयमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् ।

अधिवेशनले राजेन्द्र कुमार थापाकाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको अधिवेशन निर्वाचन समितिका संयोजक कृष्ण बहादुर कार्कीले जानकारी दिए । संस्थाको उपाध्यक्षमा विना रायमाझी, सचिवमा सुनिता न्यौपाने भट्टराई, सह–सचिवमा सकुन्तला बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा तारा पयिार, राजेश थापा, सम्झना कार्की, चम कुमारी श्रेष्ठ, प्रवेश आचार्य र राम कुमार ठकुरी चयन भएका छन् ।

संस्थाका नवनियुक्त अध्यक्ष थापाले पद ग्रहण गर्दै आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको सहयोग आवश्यक पर्ने बताए । कोरोना भाइरसको प्रभाव रोक्ने अभियानसँगै विगतका कामलाई निरन्तरता दिदै नयाँ रचनात्मक कामहरु गरेर आफ्नो नयाँ कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए । स्वार्थभन्दा माथि सेवाको भावनाअनुसार अघि बढ्ने उनले बताए । साथै उनले आफनो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मानविय सेवाका काममा सक्दो सहयोग पु¥याउने र संस्थाको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाले वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संस्थाको गत आवको वार्षीक प्रतिवेदन, आर्थिक प्रतिवेदन र नयाँ रणनीतिक कार्ययोजना सम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा निलकण्ठ टोल विकास संस्थाका अध्यक्ष हरि प्रसाद रेग्मी, गणेश टोल विकास संस्थाका अध्यक्ष दिलबन्धु शर्मा, दुर्गा मन्दीर टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले गरेका काम उदाहरणीय र प्रसंशा गर्न योग्य रहेको बताए । साथै छिमेकी टोल विकास संस्थाहरुको सहकार्यमा सामाजीक काममा जुट्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जेष्ठ नागरीक महिलातर्फ ९० वर्षीय देउकी थापा र पुरुषतर्फ ८५ वर्षीय गंगा बहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका निवर्तमान सचिव जय प्रकाश भट्टराईले गरेका थिए ।