एम्नेष्टी इन्टरनेशनल बुटवलको संयोजकमा नेपाल

मेचीकाली संवाददाता

२ आश्विन २०७८, शनिबार
315 shares

बुटवल । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलको संयोजकमा कविन्द्र नेपाललाई चयन गरिएको छ । समूह–१२ बुटवलको शनिबार भएको ३२ औं साधारणसभा तथा परिषद् बैठकले नेपालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको सहसंयोजकमा पूर्णबहादुर ज्ञवाली, सचिवमा बिमल बस्नेत, कोषाध्यक्षमा हरिप्रसाद गौतम तथा सदस्यहरुमा मधुकर घिमिरे, उदयराज भट्टराई, खेमानन्द पाठक, सपना रेग्मी (लम्साल) र बाबुराम न्यौपानेलाई सर्वसम्मत चयन गरिएको छ ।

साधारणसभा तथा परिषद् बैठकको उद्घाटन गर्दै समूहका पूर्वसंयोजक तथा राजनीतिकर्मी रामचन्द्र ढकालले आस्थाका बन्दी रिहाई र नेपालको द्वन्द्वकालीन समयमा एम्नेष्टीले गरेको योगदानको चर्चा गरे । मानवअधिकारको परिभाषा एउटै हुनुपर्नेमा जोड दिँदै उनले विश्वव्यापी सञ्जाल भएको एम्नेष्टीको काम र यसको गरिमा पनि उच्च भएको बताए ।

त्यस अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वमहासचिव तथा समूहका पूर्वसंयोजक करुण खनालले मावनधिकारको संरक्षण र प्रवद्र्धनमा एम्नेष्टीको छुट्टै पहिचान र महत्व रहेको भनाइ राखेका थिए । समूहकी संयोजक शरीता भारीको अध्यक्षतामा भएको कार्यक्रममा समूहका पूर्वसंयोजक तथा सल्लाहकार शालिकराम बञ्जाडे, छिमेकी समूहका संयोजकहरु महेन्द्र खनाल, जानकी नेपाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा समूहका सचिव बिमल बस्नेत र कोषाध्यक्ष पूर्णबहादुर ज्ञवालीले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।