बुटवल । तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित जनजागृति माध्यमिक विद्यालयले सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
मंगलबार आयोजना गरीएको मूल समारोहको तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । गरिखाने शिक्षाले मात्र आत्मनिर्भर बनाउने भन्दै उनले शिक्षाको गुणात्मक विकासका लागि अभिभावको भूमिका महत्वपूर्ण भएकाले त्यसतर्फ ध्यान दिन अभिभावकलाई आग्रह गरे । उनले शिक्षाको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको समान दायित्व भएपनि शिक्षक–विद्यार्थीको पठनपाठनप्रति निगरानी बढाउने कार्यमा अभिभावक क्रियाशील हुनुपर्ने धारणा राखे ।

तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले विद्यालय भवन मात्र नभई ज्ञानको ज्योति छर्ने पवित्र मन्दिर रहेको बताए । समय सुहाउँदो शिक्षामा सरकारले लगानी बढाउनु पर्ने बताउँदै उनले शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्तिका लागि शिक्षकहरु जिम्मेवार भएर लाग्नु पर्ने धारणा राखे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षमा प्राप्त सफलता, विद्यार्थीहरूको शैक्षिक उपलब्धि, आगामी योजना र विद्यालयको भौतिक तथा शैक्षिक सुधारबारे जानकारी गराए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै संस्कारसहितको जीवनउपयोगी व्यवहारिक शिक्षालाई विद्यालयले प्राथमिकतामा राखेको बताए । उनले समयअनुसार विद्यालयमा डिजिटल प्रविधिलाई प्रोत्साहन गर्दै नयाँनयाँ प्रविधि थप गर्नुपर्ने आबश्यकता रहेको बताउँदै त्यसका लागि सहकार्यको खाँचो औल्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भुषालले शिक्षकको लगनशीलता र विद्यार्थीको मेहनत तथा अनुशाशनले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई सिर्जनशील र आत्मविश्वासी बनाउन निरन्तर प्रयास गर्दै आएको बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष सीता अधिकारी, पूर्वशिक्षक बेलप्रसाद शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पूर्वविद्यार्थी रोजीना पौडेल, दुर्गादत्त माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डे, बाबुराम आचार्य, पूर्णप्रसाद सापकोटा, घनश्याम पाठक, सावित्रा आचार्य, वेलप्रसाद शर्मा, विदुर केसीलगायतले आआफ्नो भनाइ राखेका थिए ।
सोही अवसरमा यसै विद्यालयबाट एसईई उत्तीर्ण गरी एमबीबीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने रोजिना पौडेल, प्रदीप पाण्डेय, अञ्जन खड्कालाई सम्मान गरिएको थियो । यस्तै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु, उत्कृष्ट शिक्षक, अभिभावक तथा तिलोत्तमा नगरपालिकाले हालै सम्पन्न गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको थियो ।
विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, गणित प्रदर्शनी, चित्रकला प्रदर्शनी र सामाजीक अध्ययन विषयसँग सम्बन्धीत प्रदर्शनी गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै विद्यार्थीहरुले कवितावाचन, हापकिडो प्रदर्शन, बिभिन्न जातजातीका भेषभुसासहित नृत्य प्रर्दशन गरेका थिए । कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख नरेन्द्रबहादुर क्षेत्रीको स्वागत तथा सहायक प्रधानाध्यापक खेमराज खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
