जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा मासिक प्रगती विवरण सार्वजनिक

मेचीकाली संवाददाता

३ आश्विन २०७८, आईतवार
677 shares

पार्बती आचार्य
कपिलवस्तु, असोज २ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भदौ महिनामा भएका गतिबिधिहरुको मासिक प्रगती विवरण सार्बजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रम गरी जिल्लामा प्रहरीले गरेका गतिबिधीहरुका बारेमा जानकारी गराएको हो ।

पछिल्लो समयमा प्रहरीले ठुलो सफलता हासिल गर्दै आएको छ । भदौ महिनामा १ सय २७ जना फरार रहेका प्रतिवादी पक्राउ गर्न समेत सफल भएको छ । कैद असुल उपर ६५ बर्ष १० महिना ५ दिनको जरिवाना रु. ९ लाख १० हजार २ सय छहत्तर रुपैंया असुल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

फैसला पछिको अवधीको आधारमा २० बर्ष पछिको ११ जना, १५ बर्ष पछिको ५ जना १० पछिको ३२ जना, ५ बर्ष पछिको ५० जना र ५ बर्ष भन्दा कम अवधिका २९ जना गरी जम्मा १ सय २७ जना फरार प्रतिबादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

यस्तैगरी कर्तव्य ज्यान शिर्षक मुद्धामा संलग्न रही फरार रहेका शुद्धोधन गाउँपालिका वार्ड नं ६ का ७० बर्षीय लौटन पासी १२ बर्ष पछि पक्राउ भएका छन । कपिलवस्तु जिल्ला अदालतको ०६६ बैशाख १० गतेको फैसलाले २० बर्ष कैद सजाय तोकिएको थियो । यसै गरी डाँकाचोरी मुद्धामा संलग्न प्रतिवादी माँयादेवी गाउँपालिका वार्ड नं ६ का ४९ बर्षीय रामकेश भन्ने रामबरन पासीलाई जिल्ला अदालतको ०६७ साउन ३१ गतेको फैसलाले ६ बर्ष कैद सजाय तोकेको थियो । फरार प्रतिबादी पासीलाई १० वर्षपछी पक्राउ गरि सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको छ ।

यसैगरी भारत जिल्ला पुर्निया थाना हसनीपुर ईग्रहा पोष्ट बनमन्की घर भई हाल जिल्ला कपिलबस्तु शिबराज नगरपालिका वडा नं ५ डिहवा बस्दै आएका ४० वर्षीय नबि हुसेन अन्सारीले ९ वर्षीया बालिकालाई आर्थिक प्रलोभन देखाई जवरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रतिवादीलाई पक्राउ गरी जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता तथा म्याद थपगरी अनुसन्धान भई रहेको छ ।

भदौ ७ गते बिहान ७ बजे बाणगंगा नगरपालिका वडा नं ४ जितपुर स्थित अर्घाखाची सुपा देउराली होटल एण्ड लजमा होटल संचालक प्रकाश न्यौपानेले ४ जना किशोरीहरुलाई आर्थिक प्रलोभनमा पारी बिभिन्न मानिसहरुसिंग यौन सम्पर्क राख्न लगाएको थाहा पाएपछि प्रहरीले किशोरीहरुलाई उद्दार गरेको छ । भने वेश्यावृत्तीमा लगाउने होटल संचालक प्रकाश न्यौपाने र वेश्यागमन गर्ने ईमान शेखलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान कार्य भई रहेको छ ।

प्रहरीको अर्को सफलता जिल्ला प्रहररी कार्यालय कपिलबस्तुले अनुसन्धान बाट सफलता प्राप्त गर्दे आएको छ । कपिलवस्तु जिल्लाको साबिक जवाभारी गा.बि.स. हाल शिवराज नगरपालिका वडा नं.–७ स्थित चिनी तयार गर्ने कच्चा पदार्थ उखु गाँउका कृषकहरुसंग खरीद गरी महालक्ष्मी सुगरमिलमा बिक्री कार्य गर्ने र ठेक्कापट्टाको काम गर्दै आई रहेका साबिक पत्थरदेहीया गा.बि.स.वडा नं.–४ हाल बिजयनगर गाँउपालिका वडा नं.–४ बस्ने ४८ बर्षीय प्रकाश नारायण श्रेष्ठलाई ०६४ माघ २४ गते फोन मार्फत काम छ भनि बोलाएका थिए ।

उनलाई मिलमा बोलाई असलम मुसलमान, बब्लु भन्ने खुर्सेद आलम खाँ, अजय सिंह भन्ने शुशिल तिवारी समेत मोटरसाईकलमा गई उक्त महालक्ष्मी सुगरमिलको कम्पाउण्ड भित्र आई प्लानर नजिकै आफ्नो मोबाईलमा कुराकानी गरिरहेको अवस्थामा एक्कासी गोली प्रहार गरी सख्त घाईते बनाई फरार भएका ब्यक्तीहरुलाई गत महिनामा प्रहरीले पक्राउ गर्न सफल भयो ।

उनिहरुलाई अनुसन्धान कार्य पुरा गरी अदालतमा पेश गरीएकोमा पुर्पक्षको लागी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
गत साउन ३२ गते दिउँसो साढे ३ बजेको समयमा कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु १५ प ११९४ नं को मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक कृष्णनगर नगरपालिका २ बस्ने जमिल भन्ने अकिल खानको साथबाट ब्राउन सुगर २३ ग्राम डिजिटल तौल गर्ने हाते मेसिन थान १, नगद रु ८ सय ८० र मोबाईल १ थान प्रहरीले फेला पार्न सफल भयो ।

उक्त लागु औषध खरिद गर्न आएका जिल्ला प्युठान, प्युठान नगरपालिका ८ बस्ने बिकास महतरा क्षेत्रीको साथबाट नगद रु. १४ हजार र मोबाईल थान १ फेला परेको थियो । बरामद लागु औषध, सामान र मोटरसाईकल सहित ब्यक्तीलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भई रहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

भदौ महिनामा किराना, सवारी साधन, लत्ता कपडा, राँगा भैसी, बोका खसी, ईलेक्ट्रिक, चल्ला कुखुरा तथा माछा, अन्य सामान, काठ र गोरु लगायतका सामाग्रीहरुबाट ८० लाख ५५ हजार ७४ रुपैंया राजश्व असुली भएको प्रहरी उपरिक्षक कार्कीले बताए । यसैगरी भदौ महिनामा मोबाईल गस्ती, मोटरसाईकल गस्ती, पैदल गस्ती र एसआरपी गस्ती गर्दा ६४ हजार ३ सय ६० किलोमिटर दुरीको गस्ती गरेको छ । ट्राफिक कारबाही तथा राजश्व सम्बन्धि ०७७÷०७८ को साउनमा ८ सय ९४ सवारी साधन कारबाही हुँदा ४ लाख ८२ हजार ५ सय राजश्व असुली भएको थियो भने भदौमा १ हजार ९ सय ४४ सवारी साधनहरु कारबाहीमा पर्दा १० लाख ५२ हजार ५ सय रुपैंया राजश्व असुलि भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी ०७८÷०७९ को साउनमा २ हजार ८ सय ३२ सवारी साधनहरु करबाही हुँदा १७ लाख २५ हजार ५ सय रुपैंया राजश्व असुली भएको थियो भने भदौ महिनामा ३ हजार ३ सय ५० सवारी साधनहरुबाट २६ लाख ३० हजार राजश्व असुली भएको छ ।

भदौ महिनामा जिल्ला प्रहरी कार्यालयले १ सय ३३, ट्राफिक कार्यालयले २ हजार २ सय, वडा प्रहरी कार्यालय चन्द्रौटाले २ सय १४, ईलाका प्रहरी कार्यालय पिपराले ३ सय ३८, ईलाका प्रहरी कार्यालय गोरुसिंगेले १ सय ३०, ईलाका प्रहरी कार्यालय कृष्णनगरले १ सय ४६, ईलाका प्रहरी कार्यालय गणेशपुरले ३९ र ईलाका प्रहरी कार्यालय पकडीले १ सय ८ गरी जम्मा ३ हजार ३ सय ५० सवारी साधनहरु चेकिङ्को कारवाही हुँदा २६ लाख ३० हजार राजश्व संकलन गरिएको प्रहरी नायव उपरिक्षक भण्डारी बताए ।

यस्तै ६९ स्थानहरुमा कोभिड १९ सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको छ । ०७८÷०७९ को साउनमा ९० मुद्दा दर्ता भएकोमा ५० पर्छौट भएका थिए भने ४० बाँकी थिए । यस्तै भदौमा ७१ मुद्दा दर्ता भएको मा ४१ पर्छौट भएका छन् भने ३० मुद्दा फर्छौट हुन बाँकीरहेका छन् ।
जिल्ला भरमा बिभिन्न शिर्षकमा ७१ मुद्दा दर्ता भएका छन् ४१ वटा फर्छौट भएका छन् भने ३० फर्छौट हुन बाँकी छन् । महिला तथा बालबालिका सम्बन्धि परेका ५३ वटा उजुरीमा मध्ये ३५ वटा उजुरी मिलापत्र भएका छन् भने १८ वटा बाँकी रहेका छन् । प्रहरीले दर्ता गरेका मुद्धामा सबै भन्दा बढी प्रभावित मधेसी महिला र मुस्लिम महिला रहेका छन् ।

यस महिनामा १२ जनाले आत्म हत्या गरेका छन् । आत्म हत्या गर्नेमा १९ बर्ष देखि माथि २५ बर्ष सम्मका बढी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । भदौ महिनामा ७ जनाले झण्डी आत्महत्या गरेका छन् । ४ जनाले बिष सेवन गरेका छन् भने १ जनाले हाम फालेर आत्महत्या गरेका छन् ।
मोबाईल गस्ती, मोटरसाईकल गस्ती र पैदल गस्तीलाई निरन्तरता दिईएको छ । कोभिड १९ सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन र तपाईको माक्स खोई अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । कपिलवस्तु प्रहरीले हिंसा प्रभावित क्षेत्रहरुलाई लक्षित गरेर घरेलुहिंसा र आत्महत्या विरुद्ध विशेष अभियान जस्ता सचेतना मुलकका कार्यक्रमहरु संचालन गर्ने प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।

चाडपर्बको समयमा घटनाहरु नघटुन भन्नका लागि त्यस्ता स्थानहरुलाई लक्षित गरेर प्रो एक्टिभ तथा रि एक्टिभ प्रहरीका गतिबिधीहरुलाई बृद्धि गर्ने, हिरासत कक्षको सुधार गर्ने, सिसिटीभी क्यामेरा जडान गर्ने, लाईब्रेरीको ब्यबस्था गर्ने, पेण्डीङ्मा रहेका मुद्दाहरु छिटो फर्छौट गर्ने, कार्यालयको अभिलेख व्यवस्थापनलाई जोड दिईने, लामो दुरीको गस्तीलाई बढाउने प्रहरी कर्मचारीहरुलाई एप्समा आबद्ध गराई कार्यालयको सुचना आदान प्रदान गरिने लगाएतका कार्ययोजना रहेको प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले प्रहरी गरेका गतिबीधिहरुको प्रसंसा गरे । प्रहरीले गरेका गतिबिधीको अभिलेखि करण र मासिक प्रगती सार्बजनिकले पत्रकारहरुलाई समाचार संम्प्रेषण गर्न सहज भएको बताए । साथै कुनैपनि समाचार लेख्नु भन्दा पुर्ब प्रहरीसंग समन्वय गरी सत्य, तथ्यको आधारमा समाचार संम्प्रेषण गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका क्रियाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।