घनश्याम कोइराला
जीवन छ र धर्म छ । जीवन नै नभए धर्मको के अर्थ हुन्थ्यो र ? स्मरणीय छ, जीवनमा शरीर छ–शरीरमा जीवन छ । जीवन र शरीर छुट्टै नभएजस्तै, धर्म र जीवन पनि छुट्टै छैन । कतै भनिएको पनि छ, ‘शरीरमाद्ययं खलु धर्मसाधनम्’ अर्थात् धर्मसाधनाका लागि शरीर नै पहिलो–प्राथमिक हो । यसबाट थप स्पष्ट हुन्छ कि सांसारिक जिम्मेवारीजन्य धर्म होस्, पदार्थको धर्म होस् वा अलौलिक शक्तिमाथि विश्वासको धर्म, शरीरविना सम्भव छैन, शरीर नै मुख्य हो ।
हाम्रो समाजमा धर्मका विषयमा धर्मका विषयमा अनेकौँ चर्चा–परिचर्चा, बहस चलिरहेको देखिन्छ । यस्ता बहस प्रायः अलौकिक, अदृश्य शक्तिको प्रभावको सर्वोच्चता अर्थात् ईश्वरसँग जोडिएर हुने गरेको पाइन्छ । यो धर्मको एउटा मात्र पक्ष हो, धर्मको समग्रता होइन भन्ने कुरा यस क्षेत्रका विद्वान्–विज्ञहरूबाट हुने गरेको पाइन्छ । यसबारे अनेकौँ व्यक्तित्वहरूबाट धेरै कुरा उल्लेख भएको पाइन्छ । यस सन्दर्भमा एक जना विद्वान् आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेलबाट धर्मको व्युत्पत्ति यसरी गरिएको छ, ‘ध्रियते पाञ्चभौतिकं शरीरं येन स धर्मः’ अर्थात्, जसबाट प्रत्येक सांसारिक प्राणी आ–आफ्ना पाञ्चभौतिक शरीरलाई धारण गर्दछन् अथवा सुरक्षित राख्दछन्, त्यस पदार्थलाई धर्म भनिन्छ । (मन्दाकिनी, २०६६)
उहाँका अनुसार यी धर्म पाँच प्रकार छन् । ती हुन्–साधारण धर्म, असाधारण धर्म, अलौकिक विलक्षण धर्म, अपवाद धर्म, आपद्धर्म । यी विषयबारे विस्तृत चर्चा हुँदै गर्ला, तर यसबाट के कुरा स्पष्ट हुन्छ भने धर्म भनेको कुनै एउटा विषय मात्र होइन, यो बहुआयामिक विषय हो । वास्तवमा वस्तुको गुण, स्वभाव धर्म हो । मानिसको कर्तव्य धर्म हो । जसलाई प्रकृति, संस्कृति, समाज, राज्यले जे जिम्मेवारी निर्धारित गरेको छ, त्यो गर्नु धर्म हो ।
‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ अर्थात् आफ्नो धर्ममा बरु मर्नु जाती, अर्काको धर्म भयङ्कर हुन्छ । यो पङ्क्ति श्रीमद्भगवद्गीताको तेस्रो अध्यायको ३५औँ श्लोको आधा अंश हो । श्रीमद्भगवद्गीतामा लेखिएको, श्रीकृष्णको मुखबाट उच्चारण गरिएको हुनाले यहाँ उल्लेख गरिएको धर्मलाई पनि कतिपय मानिसहरूले अहिलेको हिन्दु धर्मसँग जोडेर हेर्ने–बुझ्ने गर्दछन् । जबकि जतिबेला महाभारत युद्ध भइरहेको थियो, कृष्ण र अर्जुनको संवाद भइरहेको थियो, त्यतिबेला बौद्ध, इस्लाम, शिख, क्रिश्चियन आदि धर्मको भ्रुण पनि थिएन । महाभारत, कृष्ण, अर्जुन आदिको समयभन्दा पछि प्रचलनमा आएका ‘धर्म’का अनुयायी–साधकहरूले अघिल्ला धर्महरूलाई विभेदकारी भन्न मिल्दैन । यो ‘विभेद’ धर्मका कारणले नभई व्यवस्थापनको पङ्क्तिभेदका कारणले हो । आधुनिक होस् वा प्राचीन राज्य विभेदकारी हुन्छ । राज्य प्राप्ति, राज्यभोग, राज्य सुरक्षा सर्वत्र विभेद हुन्छ तर सभ्य समाजमा विभेदलाई, नियन्त्रणलाई पनि सम्मानपूर्वक गर्न सकिन्छ । यस्तो विभेदलाई सकारात्मक बनाउन सकिन्छ र यस्तो गर्ने अभ्यास पनि भइरहेको छ ।
माथि उल्लेख गरिएको पङ्क्तिको तात्पर्य स्पष्ट छ, प्रकृतिका वस्तुहरू सोही अनुसारको वातावरणको अभावमा तिनीहरू जीवित रहँदैनन् । मानिसले पनि मानवीय गुणहरू त्यागेर अन्यत्र भड्कियो भने त्यो पनि टिक्दैन ।
यस्ता सामान्य कुरा नबुझेर, नबुझाएर, बुझपचाएर संसारमा धर्मका नाममा अनेकौँ लडाइँ–झगडाहरू विगतमा भएका थिए र वर्तमानमा पनि भइ नै रहेको छ । यस्तो नभएको भए धर्मयुद्ध, जेहाद आदि शब्दहरू प्रचलनमा आउने नै थिएनन् । धर्म राम्रो हो । धर्म शाश्वत हो । सबैका धर्म हुन्छन् । तर, धर्मको नाममा हुने लडाइँ–झगडा भने धर्मविपरीत कार्य हो । कुनै पनि धर्मले कसैका विरुद्ध लड्नु भनेको पाइँदैन ।
संसारका सबै धर्महरू कट्टर नै रहेका छन् । कुनै धर्म पालन गर्नमा खुकुलो होला, तर मान्यतामा सबै उत्तिकै कट्टर छन् । त्यसैले, विभिन्न समयमा विभिन्न व्यक्तित्वहरूले कट्टरताको विरुद्धमा आफ्नो ज्यानै जाने गरी विद्रोह वा अवज्ञा गरेका थुप्रै उदाहरण छन् । धर्मका नाममा रहेको कट्टरता र शोषणका विरुद्धमा येशु ख्रिष्ट किला ठोकेर मारिनु प¥यो । गुरु गोविन्दसिंहलाई पर्खालमा चिनेर मारियो । परम्परागत कट्टरताको विरोधका कारण कबिर अपमानित भए ।
यी सबै घटनाहरू धर्मलाई नबुझेका या स्वार्थका लागि बुझेर पनि बुझपचाएकाहरूबाट भएका हुन् । यस्तै तथाकथित धर्मका पाखण्डहरूको रहस्योद्घाटन गरेकै कारण आचार्य रजनीश (ओशो) लाई पनि विष खुवाएर मारिएको हो । मारिनुभन्दा पहिले पनि उनलाई खेद्नसम्म खेद्ने काम भएको थियो । मार्ने कुरा त पछिल्लो परिणाम हो ।
यी सबै माथि उल्लेख गरिएका व्यक्तिहरू धर्मविरोधी थिएनन् । उनीहरू धर्मको नाममा रहेको जडता, स्वार्थ, शोषणका विरुद्धमा रहेका थिए । उनीहरू धर्मका पक्षधर थिए । उनीहरू धर्मलाई विकास र प्रगतिको आधारका रुपमा देख्न चाहन्थे । धर्मलाई जगत र जीवनको यथार्थसँग जोड्न चाहन्थे । तर, उनीहरू त्यतिबेलाका धार्मिक भनिने तत्वलाई सह्य भएनन् ।
धर्म भनेको प्रकृति हो । यो प्राकृतिक हुनुपर्दछ । प्रकृति विरुद्धको ‘धर्म’ धर्म नै हुँदैन । मानिस पनि प्राकृतिक प्राणी हो, प्रकृतिको उपज हो । यसले समाज निर्माण ग¥यो र सामाजिक भयो । समाजमा मिलेर बस्नका लागि नियम बनायो । नियम पालना गर्न–गराउनका लागि त्यस्तो संरचनाको परिकल्पना र त्यसको निर्माण ग¥यो । यही नै पछि राज्यको रुपमा विकसित भएको हो । यस्तो संरचना समाजको व्यवस्थापनका लागि गरिएको हो । यसै व्यवस्थापनअन्तर्गत काम तथा जिम्मेवारीहरू बाँडिए । नियमको परिपालनाको सुनिश्चितताका लागि दण्ड व्यवस्थाहरू गरियो । यसैयसै हुँदै र गर्दै समाज अघि बढिरहेको छ ।
स्वाभाविक छ कि कुनै व्यवस्था अवस्थामा आउने परिवर्तनसँगै पुरानो हुन्छ । पुरानो भएपछि त्यसमा आवश्यक परिवर्तन गर्नैपर्ने हुन्छ । यस्तै परिवर्तनका बेलामा स्वार्थी, कपटी, शक्तिशाली मानिसहरूले नीति–नियमका रुपमा रहेको धर्मलाई आफ्नो पक्षमा पारे । जहाँबाट कसैको ‘धर्म’ अरु अरुका लागि शोषणको साङ्लो बन्न पुग्यो र त्यो सिलसिला अहिले पनि राज्यको शक्तिको रुपमा र धर्मको रुपमा शोषणको माध्यम बनेर रहिरहेको छ । यसै कारण अहिले मानिसहरू धर्मका विरुद्धमा देखिन्छन् । तर, यहीँ पनि दुईवटा धार छन् ।
एउटा धार, शोषणको विरोधमा प्रचलनमा रहेका धर्मको नाममा रहेको परम्परागत तर, अप्राकृतिक विषयको विरुद्धमा छन् भने अर्को धारका रुपमा केही मानिसहरू धर्मको विरोधको नाममा यसको प्राकृतिक, विज्ञानसम्मत विषयलाई समेत भताभुङ्ग पार्न र यसैबाट स्वार्थपूर्तिको अर्को कुटिलताको प्रयोग गर्न लागिपरेका छन् । यस्तो किन हुन्छ भने कसैलाई धर्मको नाममा शोषण गरिएको छ, यही धर्म कसैको स्वार्थको बाधक बनिरहेको छ । जबकि, धर्म निरपेक्ष सत्य हो । धारणा बनाउनु वा धारण गर्नु मात्र धर्म हो । कस्तो धारणा बनाउने वा कसरी धारण गर्ने भन्ने विषय मानिसको सोच तथा दृष्टिकोणमा भर पर्ने विषय हो । धर्मलाई विभेद, अन्धानुकरण, निषेध, लडाइँ–झगडाको विषय बनाउनु हुँदैन ।
