एमाले बुटवलद्धारा ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण

मेचीकाली संवाददाता

५ आश्विन २०७८, मंगलवार
919 shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटिले ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र व्यवस्थापनमा प्रदेश र केन्द्र सरकारले तत्काल ध्यान दिनुपर्ने बताएको छ ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरि अधिक वर्षाका कारण ज्योतिनगर क्षेत्रमा खसेको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गएकोले प्रदेश र केन्द्र सरकारले चासो देखाउनुपर्ने बताएको हो ।

‘ज्योतिनगर क्षेत्रको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गएको छ, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्ने, पहिरो प्रभावितहरुको उद्धार, राहत तथा स्थान्तरणका लागि व्यवस्थापन गर्न सक्ने अबस्था छैन । त्यसैले प्रदेश र केन्द्र सरकार तत्काल ध्यान दिनु आबश्यक छ ।’ नेकपा एमाले बुटवल उपमहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले भने ।

‘स्थानिय सरकारले आफुले सक्नेजती काम गरेको र पहिरो नियन्त्रण भन्दा बाहीर गइरहेकोले सबै क्षेत्रको साथ र सहयोग आवश्यक परेको हो ।’ पन्थीले थपे– पहिरो नियन्त्रण गर्न स्थानीय सरकार गम्भीर छ, नेकपा एमाले पार्टी पनि गम्भीर छ, हामी स्वयम्सेवक परिचालन गर्न पनि तयार छौं।

साथै उनले सोमबार ज्योतिनगर क्षेत्रका पहिरो प्रभावितहरुको उद्धार र पहिरोको अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका प्रमुख माथी भएको आक्रमणको निन्दा गरेका छन् । ‘यस्तो घटना हुनु अत्यन्तै दुःखद र गलत हो ।’ उनले भने ।

आक्रमणमा संलग्न गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने पनि पन्थीले स्पट पारे । ‘उक्त घटनलाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं, घटना नियोजित रूपमा भएको आशंका गरेका छौं ।’ उनले भने ।

पंगेनिलाई सोमबार साँझ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा क्षेत्रमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ ।