बुटवल, पुस २८ (मेसस) । शैक्षिक क्षेत्रमा आफूलाई अब्बल शिक्षण संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल बुटवल–८ स्थित दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह सोमबारदेखि सुरु भएको छ । साताव्यापी रुपमा चल्ने खेल सप्ताहको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले बुटवल खेलकुद र शैक्षिक हवको रुपमा स्थापित भएको बताइन् । उनले खेलकुद विकासका लागि उपमहानगरपालिकाले ठुलो बजेट विनियोजन गर्दै खेल पूर्वाधार निर्माण तथा विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको बताइन् । बुटवलको शैक्षिक र खेलकुदको विकासमा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद गतिविधिलाई निरन्तर जोड दिइँदै आएको बताए । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले खेलकुदले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइएको स्पष्ट पारे । खेल संयोजक सुरेन्द्रकुमार शाक्यका अनुसार खेल सप्ताहअन्तर्गत एथ्लेटिक्स, कबड्डी, ब्याडमिन्टन, भलिबल, क्रिकेटलगायतका विभिन्न खेल विधामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा ४५० भन्दा बढी पदकका लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ । हाल दीप बोर्डिङ स्कुलमा करिब २ हजार ६०० विद्यार्थी अध्ययनरत छन् भने २०० शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले यसै वर्ष आफ्नो ४५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ । कार्यक्रमको सञ्चालन शिक्षक विजय सापकोटाले गरेका थिए ।
