गुल्मीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

मेचीकाली संवाददाता

६ आश्विन २०७८, बुधबार
862 shares

गुल्मी । गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको एकतले पक्की घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार राति करिब १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईले जानकारी दिए ।

पहिरोले पुरेको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।

पहिरोले तमघास–रिडी सडक अवरुद्ध

गुल्मीको तमघास–रिडी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। मंगलबार राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा  पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

उनका अनुसार उक्त सडक खण्डमा तीन ठाउँमा पहिरो खसेको छ। रेसुंगा नगरपालिकाको देउराली बजार नजिकै र भंगेरीमा पहिरो खसेको हो। सडक खुलाउन नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली खटिएको छ। उक्त सडक भएर चल्ने यातयातका साधन सडकमै रोकिएका छन्।