मुलुक बचाउन एमालेको बहुमत आवश्यकः बस्याल

मेचीकाली संवाददाता

२५ माघ २०८२, शनिबार
13 shares

बुटवल । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. २ का समानुपातिक उम्मेदवार थानेश्वर बस्यालले मुलुक बचाउन नेकपा एमालेका उम्मेदवारले जित्नुपर्ने बताएका छन् । शनिबार रुपन्देहीमा बसोबास गर्ने पाल्पालीको भेलालाई सम्बोधन गर्दै उनले मुलुक जलाउन उद्धत पात्रहरु मुलुक बनाउँछु भन्दै हिँडेको भन्दै मुलुकको अस्मिता बचाउन देशभक्तहरुले एमालेलाई बहुमत दिनुपर्ने बताए । नयाँ भनिएकाहरुसँग देश बनाउने कुनैपनि एजेण्डा नभएको उनले दाबी गरे ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिीनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले देश जलाउने र बनाउनेहरुका बिचमा चुनावी प्रतिस्पर्धा हुन गइरहेको बताउँदै जनताले उचित फैसला गर्नुपर्ने बताए । पाल्पा क्षेत्र नं. २ भित्र घर भई हाल रुपन्देहीमा बसोबास गर्ने पाल्पालीहरुको भेलाले पाल्पा २ का एमालेका उम्मेदवार ठाकुर गैरेलाई जिताउन १०१ सदस्यीस फोरम निर्माण गरेको छ भने संयोजकमा रामचन्द्र बस्याल चयन भएका छन् ।

आगामी फागुन २ गते बिस्तारित भेला र फागुन ६ गते बुटवलमा बृहत् भेलाको आयोजना गरिएको छ । सो भेलामा निवर्तमान सांसद तथा पाल्पा २ का उम्मेदवार गैरेले सम्बोधन गर्ने कार्यक्रम रहेको अमीत अधिकारीले बताए ।