मालिका र धुर्कोट कार्यसम्पादनमा उत्कृष्ट

मेचीकाली संवाददाता

३० माघ २०८२, बिहीबार
8 shares

गुल्मी। गुल्मीको मालिका र धुर्कोट गाउँपालिका कार्यसम्पादनमा देशभरमै अब्बल देखिएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको विबरण अनुसार जिल्लाका दुई पालिका कार्यसम्पादनमा अब्बल बनेका हुन् ।

आयोगले देशभरका सात सय ५३ पालिकाको आर्थिक बर्ष २०८१/०८२ को कार्यसम्पादनलाई विभिन्न १७ सूचकमा मूल्यांकन गरेको थियो । गुल्मीको मालिका गाउँपालिका ८१.९८ अकंसहित देशभरमै तेस्रो र धुर्कोट गाउँपालिका ८०.५२ अकं ल्याएर देशभरमै चौथो स्थानमा छन् । आर्थिक बर्ष २०८०/८१ मा देशभरबाट ८० अकं कटाउने चार पालिका रहेका छन् । जसमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ८३.८४ अकंसहित प्रथम र रुकुम पश्चिमको चौरजहारी गाउँपालिका ८२.१५ अकंसहित दोस्रो स्थानमा आएका छन् ।

धुर्कोट र मालिका गाउँपालिका यसअघिका विभिन्न तथ्याकंहरुमा कार्यसम्पादनमा अब्बल सावित हुदैँ आएका छन् । धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले आफुहरुको योजना, नागरिकको खबरदारी र कर्मचारीको उत्कृष्ट कार्य सम्पादनले उत्कृष्टता प्राप्त भएको प्रतिक्रिया दिनुभयो । कुनै बेला विकट भनिने मालिकाले पनि आफूलाइ सेवा प्रबाहमा अब्बल बनाउदै गएको छ ।