बुटवल, फागुन ५ । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार चम्किपुर भाटामा बुधबारदेखि श्रीमद्भागवत धन धान्यान्चल ज्ञान महायज्ञ २०८२ शुरु हुँदैछ । धार्मिक तथा सामाजिक सेवामूलक उद्देश्यका साथ राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०८२ आयोजना गरिएको हो । कार्यक्रम परोपकार कुञ्ज धाम विस्तारका लागि सञ्चालन गर्न लागिएको मुल समिति संयोजक डिल्लीराज भण्डारीले बताए । उनले दोस्रो अनुस्ठानको रुपमा महायज्ञ हुन लागेको बताए । संघका परिकल्पनाकार भागवत भास्कर कमल नयन गौतम ले संस्था विगत १८ वर्षदेखि सक्रिय रूपमा कार्यरत रहेको जानकारी दिए। उनका अनुसार संघ हाल ४३ जिल्लामा क्रियाशील छ भने १० जिल्लामा आश्रम स्थापना भइसकेका छन्।
आगामी दिनमा सबै उमेर समूहलाई लक्षित गर्दै आवासीय शिविर सञ्चालन गरिनेछ। यसअन्तर्गत आहार शैली तथा जीवन शैलीसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उनले बताए। गुरुयोजनाअनुसार २५ वटा क्षेत्र निर्माण गर्ने योजना रहेको पनि उनले उल्लेख गरे। उनका अनुसार उनले हालसम्म १ हजार महायज्ञ सम्पन्न गरिसकेका छन्, जसमध्ये ४०० वटा विद्यालय विकाससँग सम्बन्धित रहेका छन्। यज्ञ नहुँदा शैक्षिक गुणस्तर कमजोर हुने उनको दाबी छ।
संस्थाले करिब साढे १६ करोड रुपैयाँ लागतको भवन निर्माण खाका तयार गरेको छ। सामग्री व्यवस्थापनका लागि थप खर्च लाग्ने र सम्पूर्ण काम सम्पन्न गर्न करिब ४ वर्ष लाग्ने अनुमान गरिएको छ। समितिका सल्लाहकार तथा निर्माण समिति संयोजक हरिध्वज मल्ल ले गत वर्ष आयोजना गरिएको महायज्ञमार्फत भएको निर्माण प्रगतिबारे जानकारी गराए । उनका अनुसार महायज्ञबाट १ करोड ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकोमा ७ लाख खर्च भई १ करोड ८ लाख बचत भएको छ। हालसम्म ४० लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए।
गुरु आश्रममा करिब १ करोड २५ लाख बराबरको निर्माण कार्य भइरहेको छ भने सचिवालय निर्माणमा ३८ लाख खर्च हुने अनुमान गरिएको छ। कलश मण्डप, गार्ड रुम, यज्ञ मण्डप तथा शौचालय निर्माण भइसकेको छ। ४ करोड ४० लाख लागतमा ४०० जना बस्ने–खाने क्षमता भएको बहुउपयोगी भवन निर्माणाधीन छ, जसलाई पालिकाले निर्माण गरिरहेको छ। यस वर्ष पालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ र टेण्डर प्रक्रिया जारी रहेको जनाइएको छ। सह संयोजक डिल्लीराज भण्डारी स्वागत तथा सचिव डम्बर बहादुर भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा भुवन खत्री, डम्बरराज शर्मा, तुल्सिराम भण्डारी लगायत सहभागि थिए ।
