अमृत गिरी
बुटवल । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्षसम्म बिताएको कपिलवस्तु, बुद्धले ज्ञान प्राप्त गरेपछि अुनयायीहरुलाई एकपटक लुम्बिनीलगायतका क्षेत्रमा भ्रमण गर्न उपदेश दिएका क्षेत्रहरुदेखि मावली देवदहलगायतका सम्भावनायुक्त क्षेत्रहरु यही छन् । अस्तुधातू रहेको एकमात्र क्षेत्र रामग्राम यसैको नगिचैमा रहेको छ । भौगोलिक अवस्थिति, सीमावर्ती व्यापार, औद्योगिक आधार र पर्यटन सम्भावनाका कारण यो क्षेत्र आर्थिक करिडोरका रूपमा विकसित हुँदैछ ।
सीमावर्ती व्यापार, अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक क्लस्टर, सुदृढ सडक सञ्जाल र धार्मिक पर्यटनको संयोजनले रुपन्देहीलाई बहुआयामिक आर्थिक करिडोरका रूपमा स्थापित गर्ने आधार तयार भएको आर्थिक विश्लेषकहरु बताउँछन् । पूर्वाधारको पूर्ण उपयोग, नीतिगत स्थिरता र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न सके यो जिल्ला लुम्बिनी प्रदेश मात्र होइन, राष्ट्रिय अर्थतन्त्रकै प्रमुख इञ्जिन बन्न सक्ने सम्भावना रहेको भन्दै यसलाई साकार पार्न केन्द्रित रहेको पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता छ ।

सीमावर्ती व्यापार र भन्सार राजस्व
भारतसँग जोडिएको बेलहिया नाका (सुनौली–बेलहिया) मुलुकका प्रमुख व्यापारिक प्रवेशद्वारमध्ये एक हो । यहाँस्थित बेलहिया भन्सार कार्यालयमार्फत वार्षिक अर्बौँ रुपैयाँ राजस्व संकलन हुने गरेको छ । इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको ठूलो हिस्सा यही नाकाबाट भित्रिन्छ । यतिमात्रै होइन, यहीँ नाकाबाट नेपालले कैयौं सामानहरु निर्यातसमेत गरेको छ । नेपालमा उत्पादन भएका कैयन् सामानहरु भारत र भारत हुँदै तेस्रो मुलुकका लागि निर्यात भइरहेका छन् ।
अन्तर्राष्ट्रिय हवाई सम्पर्क
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई मार्गबाट पर्यटन र कार्गो सेवाको सम्भावना विस्तार भएको छ । पूर्ण क्षमतामा सञ्चालन हुन सके वार्षिक लाखौँ पर्यटक भित्राउने क्षमता रहेको प्रक्षेपण गरिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै कारण यसक्षेत्रमा अर्बौं रकम लगानी भइसकेको छ र अरु लगानी आकर्षित हुनेक्रममा छ । तर, विमानस्थलका लागि विजनेशको भने खाँचो छ । ‘यत्रो संरचना सुनसान होइन, चलायमान विजनेश चाहिन्छ र बल्ल लगानी सुरक्षित हुने र नयाँ आकर्षित हुनेछन्,’ रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीको भनाइ छ ।

औद्योगिक र पूर्वाधार आधार
हुलाकी राजमार्गमा फैलिएको औद्योगिक करिडोर, बुटवल–भैरहवा करिडोर क्षेत्रमा साना, मझौला र ठूला उद्योग गरी सयौँ उद्योग सञ्चालनमा छन् । मोतीपुर औद्योगिक क्षेत्र र आसपासका औद्योगिक क्लस्टरले उत्पादन, रोजगारी र कर संकलनमा योगदान पु¥याउँदै आएका छन् । मोतिपुर औद्योगिक क्षेत्रका सन्दर्भमा देखिएका विवादहरुलाई समाधान गर्दै नयाँ तरिकाले निर्माण गर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता स्वागतयोग्य रहेको उद्योग वाणिज्य संघ बुटवलका उपाध्यक्ष सुरज भट्टराई बताउँछन् ।
यस्तै निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिले पूर्व–पश्चिम राजमार्ग सञ्जाललाई थप सुदृढ बनाउनेछ । नमुना बनाउन अध्ययन पूरा भएको सिद्धार्थ राजमार्ग र निर्माणको अन्तिम चरणमा पुगेको सिद्धबाबा सुरुङ मार्ग, बुटवल–गोरुसिङ्गे सडक खण्डलगायतले पहाडी तथा तराई क्षेत्रबिचको आवागमन सहज बनाउने निश्चित छ । यी सबै रणनीतिक परियोजनाहरु उनै पौडेलका साकार हुँदै गरेका ड्रिम प्रोजेक्टहरु रहेको विश्लेषक हुमराज भुसालको भनाइ छ ।

पर्यटन र सांस्कृतिक अर्थतन्त्र
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी रुपन्देहीमै अवस्थित छ । वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आगमनले होटल, यातायात, कृषि र सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढाएको छ । अहिले लुम्बिनीलाई केन्द्रमा राखेर पूर्वमा बर्दघाट देखि पश्चिममा शिवराज सम्मको भूभागसमेत समेटेर ‘ग्रेटर लुम्बिनी विकास क्षेत्र’ को नयाँ परियोजनामा काम सुरु भएको छ । यो महत्वाकांक्षी परियोजनामा लगानी गर्न विश्व बैंक र एसियाली विकास बैक तयार भइसकेका छन् । यो साकार हुँदा तराईका तीन जिल्ला मात्रै होइन, पहाडी भेगलाई पनि समावेश गरेर हिलस्टेशन बन्ने र रोजगारी विस्तारदेखि आर्थिक केन्द्रका सम्भावना सार्थक हुने अर्का विश्लेषक माधव पौडेलको भनाइ छ ।
अर्थमन्त्रीका रूपमा उनले पूँजीगत खर्च वृद्धि, राजस्व प्रणाली सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखे । संघीय व्यवस्थाअनुसार वित्तीय हस्तान्तरण प्रणाली सुदृढ गर्न तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न उनले जोड दिएका थिए ।

कृषि र सेवा क्षेत्र
तराईको उर्वर भू–भाग मर्चवारदेखि कैयन् फाँटहरु यहीँ छन् । धान, गहुँ, तेलहन, दलहन र तरकारी उत्पादनमा रुपन्देही अग्रणी जिल्लामध्येमै पर्छ । कृषि उपज, थोक बजार र प्रशोधन उद्योगले ग्रामीण अर्थतन्त्रलाई करिडोर अर्थतन्त्रसँग जोड्ने आधार तयार पारेका छन् । बुटवलको सेमलारमा निर्माणको प्रक्रियामा रहेको कृषि उपज संकलन केन्द्रले यसक्षेत्रको कृषिमा बहुआयामिक प्रभाव पार्ने किसान महासंघका अगुवा महेन्द्र गिरी उल्लेख गर्छन् । उनले कृषिमा लागेकालाई प्रोत्साहन र नयाँलाई आकर्षणका लागि विशेष कार्यक्रमको खाँचो रहेको बताउँछन् ।
रणनीतिक र गौरवका आयोजनामा पौडेलको अगुवाई
समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र पूर्वाधार विकासप्रतिको प्राथमिकताका आधारमा चिनिने नेतामध्ये पूर्वअर्थमन्त्री पौडेल अग्रपंक्तिमा देखिन्छन् ।
चार दशकभन्दा लामो राजनीतिक यात्रामा उनले संघर्ष, संगठन र शासन सञ्चालनका विविध आयाम अनुभव गरेका छन् । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा रुपन्देही–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

शिक्षा, स्वास्थ्य र डिजिटल अर्थतन्त्र
लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, सिपमूलक शिक्षा र युवामुखी उद्यमशीलता कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल विस्तार, ट्रमा सेवा र स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयनजस्ता विषयलाई सामाजिक सुरक्षासँग जोडिएको नीति रूपमा प्रस्तुत गरिएको छ । साथै डिजिटल सेवा, स्टार्टअप प्रवद्र्धन र सूचना–प्रविधि आधारित उद्यमलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरिएको छ ।
‘एमाले राष्ट्रिय राजनीतिको मियो हो’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका निर्वाचन प्रक्षेपणहरू वास्तविकताभन्दा फरक भएको दाबी गरेका छन् । उनले भरपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट तयार पारिएका अन्य प्रक्षेपणहरू सार्वजनिक हुने क्रममा रहेको बताए ।

बुटवलमा प्रेस चौतारी निकट पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही–२ सहित विभिन्न निर्वाचन क्षेत्रमा एमाले कमजोर भएको देखाउने प्रयास भएको उल्लेख गर्दै त्यसलाई ‘योजनाबद्ध र सेटिङमा आधारित’ दाबी गरे ।
पौडेलले विगतमा सुरु गरिएका पूर्वाधार आयोजनाहरू सम्पन्न गर्ने र नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याए । उनले निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक आयोजना, सिद्धबाबा सुरुङ मार्ग तथा सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई प्राथमिक परियोजनाका रूपमा उल्लेख गरे ।
उनका अनुसार सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरूबिच आवागमन सहज भई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै कालीगण्डकी–तिनाउ डाइभर्सनजस्ता बहुउद्देश्यीय योजनालाई दीर्घकालीन विकाससँग जोडिएको रूपमा प्रस्तुत गरे ।

पौडेलले रुपन्देहीमा सञ्चालित पूर्वाधार परियोजनाहरू समयमै सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनसहित सञ्चालन गर्न स्थिर नेतृत्व आवश्यक रहेको तर्क गरे । ‘एमालेले केवल चुनाव जित्न होइन, क्षेत्र र प्रदेशलाई नमुना बनाउने लक्ष्यका साथ जनमत मागिरहेको छ,’ उनले भने । निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भइरहेका विभिन्न आकलन र राजनीतिक दाबीबिच मतदाताको निर्णय नै अन्तिम हुने उनले उल्लेख गरे ।

