चिनीयाँ लगानीकर्ताको प्राथमिकतामा लुम्बिनी

–लुम्बिनी प्रदेशमा ५० वटा उत्पादनमूलक उद्योगमा लगानी गर्ने तयारी –सैनामैनाको फोहोर प्रशोधन केन्द्रमा सहकार्य गर्न प्रस्ताव

मेचीकाली संवाददाता

९ चैत्र २०८२, सोमबार
14 shares

अमृत गिरी

बुटवल । लुम्बिनी प्रदेश पछिल्लो समय विदेशी लगानीकर्ताको आकर्षणको केन्द्रका रूपमा उदाउँदै गएको छ । विशेषगरी चीनले शिक्षा, स्वास्थ्य र उत्पादनमूलक उद्योगमा लगानी विस्तार गर्ने चाहना राख्दै यसक्षेत्रको अवलोकन भ्रमणसमेत गरेको छ । चिनका विज्ञहरु, लगानीकर्ता उद्यमीहरुले विभिन्न समयमा यसक्षेत्रको अवलोकन गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी बौद्ध विश्वविद्यालयमा यसअघि नै सहकार्य अघि बढाइसकेको चीनले अब औद्योगिक क्षेत्रमा पनि सक्रियता देखाउन थालेको छ । यसले प्रदेशको आर्थिक रूपान्तरणका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ ।
चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेड ले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५० वटा उत्पादनमूलक उद्योग स्थापना गर्न औपचारिक प्रस्ताव अघि सारेको छ ।

औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनलाई केन्द्रमा राख्दै कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी र समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्न चाहेको जनाएको छ । प्रारम्भिक चरणमा रूपन्देहीको सैनामैनामा करिब ३० मिलियन डलर लगानीमा बायोडिजेल, मल तथा ऊर्जा उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अघि बढाइएको छ ।
सैनामैना बुद्धकालीन महत्वको प्राचीन सहर मानिन्छ । यहाँ बुद्धकालीन समयमा निर्माण भएका प्राचीन वास्तुकलाका अवशेसहरु फेला परेका छन् । सैनामैनालाई सांस्कृतिक सहर पनि मानिन्छ ।

सैनामैनामा चलिरहेकै परियोजनामा सहकार्यको प्रस्ताव
सैनामैनाका प्रमुख फणेन्द्रप्रसाद शर्माले छलफलका लागि टोली आएको र नगरपालिकाले केही विषयहरुमा सहकार्य गर्न प्रस्ताव गरिएको बताए । सैनामैनाले वडा नं.१० को खोरमोरको बगरक्षेत्रलाई व्यवस्थित गराई फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । यो प्रशोधन केन्द्रका लागि जग्गाको भोगाधिकारसमेत प्राप्त भइसकेको छ । यो परियोजना प्रदेश स्तरको ठूलो परियोजना हो ।

चिनियाँ टोलीलाई यहीँ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । चिनियाँ टोलीले अध्ययन पछि उपयुक्त लागेमा सहकार्य गर्ने र नभए अलग्गै जग्गा खरिदै गरेर भएपनि सैनामैनामा एउटा ठुलो उद्योग स्थापना गर्न सकिने बारेका प्रस्तावहरु गरेको नगर प्रमुख शर्माको भनाइ छ ।
कृषिजन्य फोहोर जस्तै गहुँको डाँठ र धानको पराललाई प्रशोधन गरी ऊर्जा उत्पादन गर्ने अवधारणाले एकातिर वातावरणीय समस्या घटाउने र अर्कोतिर किसानलाई अतिरिक्त आम्दानीको स्रोत उपलब्ध गराउने गरी यसको अध्ययन भएको बताइएको छ ।

सैनामैनाका पूर्वाधार विभाग प्रमुख इन्जिनियर सुरज न्यौपानेले सुरुदेखि नै चिनियाँ लगानीकर्ताहरुले चासो दिएको र विभिन्न चरणमा छलफलहरु भइरहेको बताए । उनले नगरपालिकाले हाल निर्माणको प्रक्रियामा रहेको परियोजनामै लगानी गरि सहकार्य गर्न प्रस्ताव गरिएको र अध्ययनपछि जानकारी दिने भन्दै चिनियाँ टोली गएको जानकारी दिए ।

स्थानीय स्रोत–साधनको उचित उपयोगमा जोड
संघीय र प्रदेश सरकारबिच प्रभावकारी समन्वय, लगानीमैत्री वातावरण निर्माण र स्थानीय स्रोत–साधनको उचित उपयोगमार्फत मात्र यस्ता परियोजनालाई सफल बनाउन सकिने प्रदेश सभा सदस्य विष्णु पन्थीको भनाइ छ । पन्थीले चिनियाँ लगानीकर्ताहरुसंगै विभिन्न क्षेत्रको अवलोकन गर्दै आएका छन् ।
लुम्बिनी प्रदेशका लागि यो अवसर केवल औद्योगिक विस्तारको मात्र होइन, समग्र आर्थिक रूपान्तरणको आधार बन्न सक्ने उनको दाबी छ । ‘यदि प्रस्तावित उद्योगहरू समयमै स्थापना भई सञ्चालनमा आए भने रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण, निर्यात प्रवद्र्धन र दिगो विकासमा ठोस योगदान पुग्नेछ,’पूर्वमन्त्रीसमेत रहेका युवा नेता पन्थीको विश्वास छ ।
चिनियाँ लगानीकर्ता र अधिकारीहरुसँगै विभिन्न कार्यक्रममा सरिक भएपछि पूर्वमन्त्री पन्थीले लगानीका लागि आकर्षित हुनु एकदमै स्वागतयोग्य कुरा भएको बताए । उनले लगानीलाई नेपालीको मौलिकता सहितको हितमा केन्द्रित गर्न जरुरी रहेको बताए ।

उपयुक्त विजनेश प्लानको खाँचो
भारतसँगको खुला सीमाको सदुपयोग गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विजनेश वृद्धि गर्दै पूर्ण क्षमतामा सञ्चालन गर्ने र बनेका पूर्वाधार विकासका संरचनालाई चलायमान बनाउनका लागि पनि लगानीको खाँचो पर्ने उल्लेख गर्दै चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छन् ।
चिनियाँ लगानीकर्ताका प्रस्तावले लुम्बिनी प्रदेशमा औद्योगिकीकरणको नयाँ अध्याय सुरु गर्न सक्ने सम्भावना देखिएको भन्दै लगानीकर्तालाई आकर्षिक गर्ने उपयुक्त वातावरण बनाउन जरुरी रहेको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली बताउँछन् ।