बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले आफ्नो छैठौं वार्षिक साधारण सभा यसपटक नयाँ अभ्यासका साथ सञ्चालन गरिरहेको छ । परम्परागत एकदिने औपचारिक कार्यक्रमभन्दा फरक, ५ दिनसम्म चल्ने गरी विभिन्न रुटअनुसार व्यवसायीहरुलाई छुट्टाछुट्टै रुपमा समावेश गरेर सभा आयोजना गरिएको हो । चैत्र १४ गतेबाट सुरु भएको यो साधारण सभा १८ गतेसम्म सञ्चालन हुने छ ।
संस्थाका अध्यक्ष दधिराम खरेलका अनुसार, विगतमा व्यवसायीका गुनासा, जिज्ञासा र समस्याहरू प्रभावकारी रूपमा सुनुवाइ हुन नसकेको गुनासो आउने गरेकाले यसपटक सहभागीमैत्री र संवादमुखी ढंग अपनाइएको हो । हाल संस्थामा २२ सय २ सवारी साधन सञ्चालनमा छन्, जुन नेपालकै ठूलो यातायात सस्था मध्ये एक हो । दुइ हजार ५ सय बढी सवारी सञ्चालन गरेको संस्थाले पछिल्लो समय पुराना ६ मोडलसम्मका बसहरू विस्थापित गरी व्यवसायीलाई मुआब्जा प्रदान गर्ने नीति समेत अपनाएको छ । प्रवन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार, पछिल्लो समय यातायात क्षेत्र सहज छैन । नीति–नियमका जटिलता, प्रशासनिक अवरोध, इन्धन मूल्यवृद्धि र बजार प्रतिस्पर्धाले व्यवसायलाई चुनौती थपेका छन् ।
लेखा सञ्चालक मोहन पिइसका अनुसार, संस्थाले अब सेवा प्रणालीलाई डिजिटल बनाउने अभियान सुरु गरेको छ । प्रशासनिक कामलाई व्यवस्थित गर्ने, पारदर्शिता बढाउने, कर्मचारी व्यवस्थापन सुधार गर्ने तथा सेवा गुणस्तर उकास्ने काम भइरहेको छ । चैत्र १४ गतेदेखि शुरु भएको साधारण सभामा पहिलो दिन रुटमा भैरहवा–काठमाण्डौ (दिवा÷रात्री), स्कूल÷कलेज (मासिक) तथा अन्य गरि ५ सय ३७ जनाको उपस्थिति रहेको थियो । त्यस्तै १५ गते स्याङ्गजा–पोखरा, बाग्लुङ्ग, बेनी, नारायणगढ–पोखरा, बाग्लुङ्ग बेनी दिवा÷ रात्री प्रखण्ड र बुटवल–नारायणगढ–दुम्किबास सर्दी–पूर्व प्रखण्ड जस्मा ३ सय ३९ जनाको उपस्थित रहेका थिए । त्यस्तै १६ गते पाल्पा, रामपुर काठमाण्डौ, खहरे, गुल्मी तल्लो÷उपल्लो बाटो र अर्घाखाँची, गुल्मी–काठमाण्डौ, अर्घाखाँची–काठमाण्डौका ४ सय ५ जना सहभागिता रहेको कर्मचारी राजन शर्माले बताए ।
मंगलबार १७ गते हुने पश्चिम प्रखण्ड, बुटवल–कृष्णनगर, ४ नम्बर–तौलिहवा, हरैया–बुटवल, मिर्नी–भैरहवा–लुम्बिनी, तौलिहवा,झारवैरा,मर्चवार, ककरहवा, परासी, बुढ्डी, तौलिहवा रुटका ४ सय २७ जना सहभागी रहने छन् । १८ गते सम्पन्न हुने बुटवल–सालझण्डी, बनगाई, विंगर, हरैया माइक्रो बुटवल–बर्दघाट, त्रिवेणी र बुटवल–भैरहवा–नगर गरि जम्मा ४ सय ७८ जना सहभागी रहने छन् । साथै वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको जनाइएको छ । साथै लामो समय सवारी संचालन गरेर कुनै पनि दुर्घटना नगराएका उत्कृष्ट चालकहरुलाई सो अवशरमा सम्मानगरिदै आएको छ । यातायात क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले अपनाएको यो नयाँ अभ्यास केवल साधारण सभा मात्र होइन, व्यवस्थापन सुधार, संवाद विस्तार र भविष्यतर्फको स्पष्ट संकेत पनि हो । यदि यही गतिमा प्रविधि, पारदर्शिता र यात्रु सुरक्षालाई प्राथमिकता दिइयो भने, यो संस्था नेपालकै यातायात क्षेत्रको उदाहरणीय मोडेल बन्न सक्ने देखिन्छ ।
