बुटवल। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार) देखि सुरु हुँदैछ । एसइईमा लुम्बिनी प्रदेशबाट झण्डै ८९ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा नियमिततर्फ साधारण र प्राविधिक धारका ७२ हजार ४४ जना र ग्रेडवृद्धितर्फ १६ हजार ९२१ जना गरी कुल ८८ हजार ९६५ जना परीक्षार्थी सहभागी हुने शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डोरबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार एसइई सञ्चालनका लागि प्रदेशभर ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यसवर्ष ५ हजार ९४३ बिद्यार्थी घटेका छन् । गत वर्ष लुम्बिनी प्रदेशबाट ९४ हजार ९०८ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको एसइई १९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि ११ बजेसम सञ्चालन हुनेछ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।
सूचना अधिकारी बस्नेतले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने सबै केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको उनले बताए । ‘परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छौँ ।’ उनले भने । लुम्बिनी प्रदेशमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी सँगै सबै परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी पनि परिचालन गरीएको निर्देशनालयले जनाएको छ ।
कुन जिल्लामा कति परीक्षार्थी ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै परीक्षार्थी रुपन्देहीमा र सबैभन्दा कम रुकुम पूर्वमा रहेका छन् । रुपन्देहीमा १७६ वटा सामुदायिक १६९ संस्थागत गरी जम्मा ३४५ वटा विद्यालयका २१ हजार ३ सय परीक्षार्थी रहेका छन् भने ५९ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पूर्वमा ९१३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् भने यहाँ ८ वटा परीक्षा केन्द्र तोकिएको छ ।
यस्तैगरी पाल्पामा ४ हजार ७९९ जना परीक्षार्थी र २६ वटा परीक्षा केन्द्र रहेका छन् । गुल्मीमा ४ हजार ४५१ जना परीक्षार्थी र २६ वटा परीक्षा केन्द्र रहेका छन् । अर्घाखाँचीमा ३ हजार २४ जना परीक्षार्थी र १६ वटा परीक्षा केन्द्र रहेका छन् । प्युठानमा ४ हजार ३७९ जना परीक्षार्थी र १७ वटा परीक्षा केन्द्र रहेका छन् ।
यस्तैगरी रोल्पामा ३ हजार ८९८ जना परीक्षार्थी र १७ वटा परीक्षा केन्द्र रहेका छन् । बर्दियामा ६ हजार ८३६ जना परीक्षार्थी र ३४ वटा परीक्षा केन्द्र रहेका छन् । बाँकेमा ९ हजार ८८३ जना परीक्षार्थी र ३६ वटा परीक्षा केन्द्र रहेका छन् । दाङमा १३ हजार ९९८ जना परीक्षार्थी र ४४ वटा परीक्षा केन्द्र रहेका छन् । कपिलवस्तुमा ९ हजार ९१० जना परीक्षार्थी र ३५ वटा परीक्षा केन्द्र रहेका छन् । नवलपरासी पश्चिममा ५ हजार ७७४ जना परीक्षार्थी र २३ वटा परीक्षा केन्द्र रहेका छन् ।
देशभर पाँच लाख १२ हजार परीक्षार्थी
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदै छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ ।
यसवर्ष परीक्षा दिने छात्राको संख्या २ लाख ५७ हजार ६१३ भने दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना रहेका छन् । यसका साथै जापानको एक परीक्षा केन्द्रबाट समेत यस वर्ष २३ जनाले परीक्षा दिँदै छन् । गत वर्ष पनि जापानमा परीक्षा केन्द्र कायम गरिएको थियो । जापानमा एकसहित देशभर एक हजार ९९१ परीक्षा केन्द्र तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकांश परीक्षा केन्द्र सामुदायिक विद्यालयमा तोकिएको छ । अधिकांश केन्द्रमा विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । तर, आफ्नै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ भने सोही विद्यालयको प्रधानाध्यापक केन्द्राध्यक्ष बन्न पाउँदैनन् । विद्यालय साटासाट गरेर खटाइने बोर्डले जनाएको छ ।
एसइइका लागि ७७ जिल्लामै केहीदिन अघि नै प्रश्नपत्र पुगेको छ । सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो । उक्त प्रश्नपत्र र उत्तरपुस्तिका प्रहरीले परीक्षा मितिकै दिन वा अवस्था हेरेर त्यसअघि नै जिल्ला शिक्षा समन्वय इकाइसँग सहकार्य गरी परीक्षा केन्द्रहरूमा पु¥याउने योजना छ । परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ । परीक्षा बोर्डका प्रतिनिधि पनि अनुगमनमा पुग्नेछन् । सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समन्वय इकाइले परीक्षा केन्द्रहरूमा अनुगमन गर्नेछ ।
एक महिनामै नतिजा प्रकाशन गर्ने तयारी
पछिल्ला वर्ष परीक्षा सकिएको तीन महिनामा सार्वजनिक गरिँदै आएको एसइइको नतिजा अब एक महिनामै प्रकाशन गर्ने गरी तयारी थालिएको छ । शिक्षा मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले एक महिनामै नतिजा प्रकाशन गर्ने गरी कार्यविधि बनाउन लागेको हो ।
पहिलोपटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था भएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा लगेर परीक्षण गरिने छ । उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाइलाई नै निर्णय गर्ने अधिकार दिइएको छ ।
परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एसइइको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेका छन् । विगतका वर्षहरूमा एसइइको नतिजा असार दोस्रो सातासम्ममा सार्वजनिक हुने गरेको थियो ।
तीन महिनामा नतिजा प्रकाशन गर्दा विद्यार्थीलाई माथिल्लो तहको शैक्षिक कार्यक्रममा सामेल हुन ढिला हुने गरेको, विद्यार्थीहरू ब्रिजकोर्समा लाग्दा ठगिनुपरेकोजस्ता कारण देखाउँदै शिक्षामन्त्री पोखरेलले सोमबार राष्ट्रिय परीक्षा बोर्डलाई एक महिनामै परीक्षाफल प्रकाशन गर्न सक्ने गरी योजना बनाउन निर्देशन दिएका थिए ।
