गुल्मीको वाग्लामा रुखमा अड्किएका युवकको सकुशल उद्धार

मेचीकाली संवाददाता

३ बैशाख २०८३, बिहीबार
166 shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जना युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल बिहीबार पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्कीएका थिए ।

रुखमा अड्कीएर घाइते भएपछि उनि तल झर्न नसकी करिब ३० मिटर उचाइमा रहेको रुखको बीच भागमा रहेका थिए । स्थानीयले घटनाबारे प्रहरी चौकी धुर्कोट वस्तुलाई जानकारी गराएपछि त्यहाँबाट प्रहरी सहायक निरीक्षक झरेन्द्र बस्नेतको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घाइते युवकको उद्धार हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले रसी रुखमा बाँधेर सोही रसीको सहायताले रुखमा चढेर घाइते कुमालको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

उद्धारपछि उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ । उनको कम्मरमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।