एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

–जीपीए ३.६० देखि ४ सम्म ल्याउने ४८ हजार ३९२ जना

मेचीकाली संवाददाता

२९ बैशाख २०८३, मंगलवार
21 shares

बुटवल। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकले (कक्षा १०) एसईईको नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ । भने ३४.०२ प्रतिशत विद्यार्थी नन्ग्रेडेड भएका छन् ।

यस वर्ष नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना (६५.९८ प्रतिशत) विद्यार्थी मात्र विभिन्न ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ जना (३४.०२ प्रतिशत) विद्यार्थी नन्ग्रेडेड (एनजी) श्रेणीमा परेका हुन् । एसईईको नतिजामा गत वर्षभन्दा यसवर्ष सुधार भएको छ । गत वर्ष ६१.८१ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६५.९८ प्रतिशत पुगेको छ । यसअनुसार गत वर्षभन्दा अहिले ४.१७ प्रतिशतले एसईईको नतिजामा सुधार भएको हो । यस्तै २०८० सालको एसइई नतिजामा ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसवर्ष जिपिए ३.६ देखि ४.० सम्म ४८ हजार ३९२ जना, जिपिए ३.२० देखि ३.६० सम्म ८० हजार ३७२ जना २.८० देखि ३.२० सम्म ९४ हजार २२२ जना, २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, २.० देखि २.४० सम्म ५ हजार १९० जना र १.६० देखि २.० सम्म ७ जना गरी कुल जम्मा २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ ।

त्यसैगरी प्रदेशगत रूपमा कोशी प्रदेशमा ५० हजार ८९० जना, मधेशमा ४४ हजार ५९२ जना, बागमतीमा ७७ हजार ११३ जना, गण्डकीमा २६ हजार ५५० जना, लुम्बिनीमा ४४ हजार २५६ जना, कर्णालीमा १९ हजार ९५ जना र सुदूर पश्चिममा २१ हजार ६६४ जना विद्यार्थी ग्रेडेड भएका छन् । नन्ग्रेडेड विद्यार्थीको संख्या १ लाख ४६ हजार ५०७ जना रहेको छ । नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् । त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भएका छन् ।

यस्तैगरी सोमबार प्रकाशित भएको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण समेत गराउन सकिने बोर्डले जनाएको छ । पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेबसाइट ……………….. उबथmभलत।कभभ।नयख।लउ मा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन् । पुनर्योगका लागि आगामी जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरिएको छ ।

पूरक परीक्षा असार १ गतेदेखि
एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।