आज विश्व पर्यटन दिवस, विश्व शान्ति र पर्यटनको केन्द्र लुम्बिनी

अन्तर्राष्ट्रिय ध्यानकेन्द्रको पहिलो चरणको काम पूरा

मेचीकाली संवाददाता

११ आश्विन २०७८, सोमबार
67 shares


अमृत गिरी
बुटवल । आज विश्व पर्यटन दिवस । पर्यटनलाई नेपालको समृद्धिको एउटा बलियो आधारका रुपमा लिइएको छ । कोरोना कहरले थलिएको पर्यटनलाई माथि उकास्दै समृद्धिको आधारका रुपमा विकास गर्नेतर्फ अब विशेष राहत प्याकेजसहितको योजनाको खाँचो छ ।

लुम्बिनी बिश्वकै सम्पूर्ण बौद्ध धर्मावलम्बीका लागि आर्कषक गन्तव्यको रुपमा विकास भइरहेको छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्पराहरुलाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रुपमा संरक्षण र संवद्र्धन गर्ने लक्ष्यका साथ लुम्बिनीको विकास भइरहेको छ ।

लुम्बिनीमा बढ्दै छ संसारभरको चासो
लुम्बिनीलाई विश्वमा चिनाउने काममा अन्तर्राष्ट्रिय समुदाय अहिले पनि सक्रिय भएको छ । सन् १९५४ मा बर्मामा भएको तेस्रो अन्तर्राष्ट्रिय विश्व बौद्ध भातृत्व संघको चौथो सम्मेलनभन्दा अगाडिसम्म लुम्बिनीको विकासमा राष्ट्रिय चासो खासै थिएन ।

बर्मामा सम्पन्न उक्त सम्मेलनमा तत्कालीन राजा स्व.त्रिभुवनको प्रस्ताबमा विश्व भातृत्व संघको चौथो सम्मेलन नेपालमा गर्ने प्रस्ताब स्वीकृत भएपछि मात्र लुम्बिनीको विकासमा राज्यले चासो देखाउन थालेको थियो । राजा त्रिभुवनले २००८ सालमा लुम्बिनीको विकास गर्ने अभिप्रायले चार सदस्य सम्मिलित लुम्बिनी प्रबन्धक समिति गठन गरेका थिए । पछि उक्त समितिमा दुई जना सदस्य थपेर छ सदस्यीय बनाएर लुम्बिनीको विकास र संरक्षण गर्ने अभियान सुरु गरेका थिए ।

२०१३ साल वैशाखमा विश्व भातृत्व संघको चौथो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने निश्चित भएपछि तत्कालिन राजा महेन्द्रले लुम्बिनी स्थित मायादेवी मन्दिर, पवित्र कुण्ड र अशोक स्तम्भको हेरचाह गर्ने जिम्मा लुम्बिनी धर्मोदय समितिलाई लगाएका थिए । त्यसका साथै मायादेबी मन्दिर, पुष्करणी पोखरी सरसपmाइ र जिर्णोद्वार, भैरहवादेखि लुम्बिनीसम्मको सडक र एउटा धर्मशालासमेत बनाउने कामको सुरुवात भएको थियो । अहिले लुम्बिनीमा कायापलट हुनेगरी संरचना निर्माण भइरहेका छन् र ढिलोगरी भएपनि लुम्बिनी गुरुयोजना साकार हुने चरणमा पुगेको छ ।

लुम्बिनी गुरुयोजना अब पूरा हुने चरणमा
विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास गर्न तयार पारिएको लुम्बिनी गुरुयोजना अहिले ४३ वर्षपछि पूरा हुने चरणमा छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए ।
गुरुयोजनाका काम समयमै नहुँदा उनले खिन्नता प्रकट गरेको बताइएको थियो । पछि केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री रहेका बेलामा लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर गर्न कोषलाई निर्देशन दिएका थिए । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै ७ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान छ ।

लुम्बिनी विकास कोषले केही दिनअघि गुरुयोजनाअनुरुपका बाँकी कामका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग–अलग ठेक्का सम्झौता गरेको हो ।

बाँकी काम धमाधम
अन्तर्राष्ट्रिय ध्यान केन्द्रको दोस्रो चरणको बाँकी कामका लागि उक्त सम्झौता भएको हो । गुरुयोजनाको अन्तिम कामको सुरुआत भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, १४ किलोमिटर सडक, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ÷आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार सात सय सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । अहिले लुम्बिनीमा बाँकी काम धमाधम भइरहेका छन् ।

अन्तर्राष्ट्रिय ध्यानकेन्द्रको पहिलो चरणको काम पूरा
बुद्ध जयन्ति मनाउने कार्यक्रममा हावाहुरी चलेर कार्यक्रम नै स्थगति गर्नुपरेको, टाँगिएका टेन्टहरु हावाले उडाएर लगेको घटनाले लुम्बिनीमै एकै साथ पाँच हजार जना अट्ने सभाहल बनाउने र त्यसलाई ध्यान केन्द्रका रुपमा विकास गर्ने सोंच केपी ओलीले बनाएका थिए ।
बुद्धजयन्तीको अवसरमा ०७५ वैशाख १८ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सभाहलको शिलान्यास गरेकी थिइन् । ३२ करोड लगानीमा निर्माण भइरहेको उक्त सभाहल २२ महिनामा सम्पन्न गर्नेगरी झण्डै डेढ वर्षअघि यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेबाले सम्झौता गरेको थियो । सभाहल निर्माण कार्य पूरा हुने चरणमा पुगेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खाँनले जानकारी दिए ।

उक्त कम्पनीका इन्जिनियर बसन्त क्षेत्रीका अनुसार अहिले लुम्बिनीको ध्यान केन्द्रको दोस्रो चरणको निर्माण कार्यका लागि दैनिक एक सय ३० जनासम्म कामदार खटिएका छन् । यो चरणमा करिब २४ करोड बराबरको काम हुनेछ । सडक पिच, बाउण्ड्रीवाल निर्माण, गेष्ट ब्लक, करिब एक सय वटा बुद्धका प्रतिमासहितको बाउण्ड्री बालका पिलर निर्माण हुनेछन् । इन्जिनियर क्षेत्रीका अनुसार १० वटा वाटर फाउण्डेशन, हरियाली र शौन्दर्यकरणका काम यो चरणमा हुनेछन् । आउँदो पुससम्ममा यो निर्माण कार्य पूरा हुने बताइएको छ ।

लुम्बिनी चिनाउने उत्थानको सम्झना
सन् १९५६ नोभेम्बर १५ देखी २१ सम्म भएको चौथो विश्व बौद्ध भातृत्व संघको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमण गराएपछि लुम्बिनीप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो । अन्तर्राष्ट्रियस्तरका सहभागीहरुको भ्रमणका शिलशिलामा राष्ट्रसंघका तत्कालिन महासचिव उत्थान्तले सन् १९६७ अप्रिल २३ तारिकमा लुम्बिनीको भ्रमण गरेका थिए । उनको भ्रमण लुम्बिनीको विकासका लागी कोशेढुंगा साबित भएको थियो ।

गत वर्ष लुम्बिनीमा उत्थानको अर्धकदको शालिक उनकै नातिको पहलमा निर्माण गरिएको छ । उक्त शालिकको अनावरण प्रदेशका तत्कालीन पर्यटनमन्त्री लिला गिरीले गरेका थिए । महासचिव थान्तको भ्रमणपछि लुम्बिनीको विकासका लागी थप अन्तर्राष्ट्रिय चासो बढ्न थालेको र लुम्बिनी धेरैको खोजीको स्थल बनेको बुझाई छ । त्यसबेला भ्रमणका क्रममा उत्थान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए । सन् १९७० मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उत्थान्तले नेपालका राजदूतको अध्यक्षतामा १३ देशका राजदूत सम्मिलित एक संयुक्त राष्ट्रसंघस्तरीय समिती संयुक्त राष्ट्र«संघको कार्यालयमा स्थापना गरेका थिए । यसलाई लुम्बिनी चिनाउने कोसेढुंगा मानिन्छ ।

आकर्षण नयाँ लुम्बिनी ग्राम
११५५ विगाहा (तीन वर्ग माईल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइल भू–भागलाई एकएक वर्ग माइलमा विभाजन गरी उत्तरतपर्mको एक वर्ग माइल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड (जुन बिचमा छ) एक वर्ग माइलको भूखण्ड जसलाई शैक्षिक, संस्कृतिक तथा अन्तर्राष्ट्रिय बिहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ ।

बाँकी एक वर्ग माइलको दक्षिणतपर्mको क्षेत्रलाई पबित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तिमा पहिलो पाइला टेकेका थिए । यीमध्ये अधिकांश संरचनाको निर्माण कार्य पूरा भइसकेको छ । गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्राजस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गर्दै यो गुरुयोजना बनाइएको हो ।