ठुलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज, काठमाडौंमा सुरक्षित अवतरण

मेचीकाली संवाददाता

११ आश्विन २०७८, सोमबार
916 shares
फाइल तस्वीर

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’