कोठी महिला सेवा सामुदायिक वनको नयाँ नेतृत्वद्वारा सपथ ग्रहण

मेचीकाली संवाददाता

१३ आश्विन २०७८, बुधबार
604 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका–२ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहमा निर्वाचित नयाँ नेतृत्वको सपथ ग्रहण भएको छ । लामो समयसम्म नेतृत्वविहीन रहेको वनमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको हो ।

नव निर्वाचित समितिलाई निर्वाचन संयोजक सुरेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गराउँदै पाण्डेले अब सबै वनको विनास होइन, संरक्षणमा जुट्नु पर्ने बताउँदै सामुदायिक वनले धेरै सम्भावना बोकेको हुँदा वन संरक्षणमा लाग्न सम्पूर्ण पदाधिकारी तथा उपभोक्ताहरु लाई आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले नव निर्वाचित पदाधिकारीहरुलाई सुभकामना दिंदै वनको व्यवस्थापन गर्न सबै लाग्नुपर्ने बताए । उनले चुनावमा जे भएपनि सबैले मिलेर काम गर्नुपर्ने जनादेश प्राप्त भएको हुँदा सोही जनादेशअनुसार वनलाई व्यवस्थापन गर्न आग्रह गरे । साथै यस क्षेत्रका उपभोक्ताहरुलाई आवश्यक पर्ने वन पैदावारहरु सहज ढंगले उपलब्ध गराउँदै सामुदायिक बनको संरक्षण गर्न नव निर्वाचित समितीलाई सुझाव दिए ।

गत ९ गते भएको निर्वाचनले रत्न बहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको थियो । समितिको उपाध्यक्षमा देवमणि बेल्बासे, सचिवमा बाबुराम घिमिरे, कोषाध्यक्षमा सरोजमणि पौडेल र सहसचिव शंकर कार्की निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा शकुन्तला मरासिनी, गीता नेपाल भट्टराई, शोभाखर घिमिरे, हिरामणि घिमिरे, सपना राना, विमला मल्ल, राजेन्द्र चौधरी, रमेश कार्की, दुर्गादेवी पाण्डे, सोनमति चौधरी निर्वाचित भएका थिए ।

निर्वाचन संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षता, बाणगंगा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता, निर्वाचन मण्डल सदस्य हर्कबहादुर कार्कीको स्वागत तथा निर्वाचन मण्डल सदस्य जयराज खनालले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका प्रमुख खिलबहादुर तामाङ, वडा नं २ का सचिव नरेन्द्र पोखरेल लगायत विभिन्न राजनीति दलका प्रतिनिधि, वनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।