बुटवलमा राजमार्ग सरसफाई अभियान निरन्तर

जनप्रतिनिधि, कर्मचारी र नागरिकसमेत सहभागी

मेचीकाली संवाददाता

१३ आश्विन २०७८, बुधबार
596 shares


बुटवल । बुटवलमा राजमार्ग सरसफाई अभियान निरन्तर चलिरहेको छ । विशेष अभियानकै रुपमा राजमार्गका विभिन्न खण्डको सरसफाई गरिएको छ । सरसफाई अभियानमा बुटवलका मेयर शिवराज सुवेदीसहित जनप्रतिनिधि, कर्मचारी, सफाइकर्मी, मजदुर र नागरिक अगुवाहरुको समेत सहभागिता रहेको छ ।

बुटवल उपमहानगर, सडक डिभिजन कार्यालय र वातावरणीय सुन्दर नेपालको सहकार्यमा धुलो, हिलो र फोहोर थुप्रिएको राजमार्ग क्षेत्रमा सरसफाई अभियान निरन्तर चलिरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । ज्योतिनगर क्षेत्रमा गएको पहिरोसंगै त्यहाँको लेदो बगेर बुटवलको मुख्य राजमार्गसम्मै आएको थियो । त्यसले घाम लाग्दा धुलो र पानी परे हिलो भएपछि राजमार्ग र जोडिएका बस्ती प्रभावित भएका थिए ।

हिलो, धुलो र फोहोरलाई आफै उठाउँदै र सफा गर्दै मेयर सुवेदीले यसचरणको सरसफाई अभियानको सुरुआत गरेका थिए । सरसफाइमा मेयर सुवेदी आफँै अग्रसर भएपछि अरु जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवाहरु पनि अभियानमा होमिएका थिए । अविरल वर्षाले ज्योतिनगर लक्ष्मीनगरमा आएको पहिरोले गर्दा गोलपार्कदेखि राजमार्ग चौराहासम्मको सडकमा जम्मा भएको धुवाधुलो तथा फोहोरमैला हटाउन सरसफाई अभियान सञ्चालन गरिएको हो ।

सुरुवात गर्दै मेयर सुवेदीले चुरे क्षेत्रको माथिल्लो तहदेखि नै व्यवस्थापन गर्ने गरी योजना बनाउन लागिएको र पहिरोपीडितलाई आवासको व्यवस्था मिलाउने पहल भइरहेको बताएका छन् । ज्योतिनगरको जोखिमको बस्तीलाई स्थानान्तरण गर्ने, कम जोखिम भएको क्षेत्रलाई त्यहीँ सुरक्षित पार्ने र नाली निकासको उचित प्रबन्ध मिलाउनेतर्फ उपमहानगरले प्राविधिकहरु लगाएर अध्ययन गरेको छ ।

पहिरोको नियन्त्रण, पहिरोले झारेका ढुंगामाटो सफाइदेखि त्यसक्षेत्रको समग्र वातावरणीय प्रभावको अध्ययन भइरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए । जोखिम न्यूनीकरण, जोखिम व्यवस्थापन, राहत र पुनस्र्थापनाका काममा तीनै तहको सहकार्यको खाँचो रहेको भन्दै उपमहानगरले नागरिक समाजलाई पनि सहकार्य गर्न आग्रह गर्दै आएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

सहर स्वच्छ र सफा राख्न समुदाय स्तरबाट पनि अभियान सञ्चालनको खाँचो रहेको उल्लेख गर्दै सरसफाई अभियन्ता तथा वातावरणीय सुन्दर नेपालका सञ्चालक बलभद्र पुरीले हरेकले घरैदेखि प्रकृति छुट्टाएर फोहोरको व्यवस्थापन गर्न जरुरी रहेको बताए । राजमार्गमा चलिरहेको विशेष सरसफाई अभियानमा जनप्रतिनिधि, कर्मचारीसंगै पुरीसहितका नागरिक अगुवाहरु पनि सहभागी हुँदै आएका छन् ।