ज्योतिनगर पहिरो नियन्त्रणको काम अघि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह

मेचीकाली संवाददाता

१४ आश्विन २०७८, बिहीबार
605 shares

बुटवल। पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी बुटवलको ज्योतिनगरमा झरेको पहिरो नियन्त्रणको काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।

टोलीमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल–४ का अध्यक्ष टंक पराजुली, बुटवल–१ का अध्यक्ष महेन्द्र लिगल र बुटवल–१३ का वडाध्यक्ष नारायण पुन सहितको टोलीले बिहीवार प्रधानमन्त्री देउवालाई भेटेको हो ।

नेता पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन, पहिरो नियन्त्रण, बुटवलको संरक्षणका साथै गुरुयोजना निर्माण र प्रभावितलाई पुनःस्थापनाका लागि बजेटको व्यवस्था गर्नुपर्ने बताए । ‘वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई निर्देशन दिनुहोस्,’ पौडेलले भने ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने बताए । उनले चुरे क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताए ।

नेता पौडेल भदौ २१ गते पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी सरकार र सदनमा सशक्त आवाज उठाउँदै पहिरो नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

भदौ १३ र असोज ४ गते गरी बुटवल–३ ज्योतिनगरमा चुरेबाट झरेको पहिरोले २० भन्दा बढी घर पुरिएका छन् भने ज्योतिनगर बस्ती नै जोखिममा परेको छ । बुटवलको ज्योतिनगर चुरेको फेदमा पर्छ । ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो ।

त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो । २३ वर्षपछि अहिले फेरि पहिरो झरे समग्र बुटवल क्षेत्रलाई नै जोखिमपूर्ण बनाएको छ ।