अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि नगरपालिकालाई ध्यानाकर्षण

मेचीकाली संवाददाता

१४ आश्विन २०७८, बिहीबार
566 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका भित्र सञ्चालन हुँदै आएका दुधडेरी, मिष्ठान्न भण्डार, होटल एण्ड लज, किराना पसलहरु र ढावा तन्दुरी लगाएतका पसलहरुमा अखाद्य वस्तु विक्रि गरेको पाइएपछि नगरपालिकालाई ध्यानाकर्षण गराईएको छ ।

ती पसलहरुमा अनुगमन गर्दा खाद्य बस्तु आम नागरिकहरुले पैसा तिरेर अखाद्य बस्तुहरु खान बाध्य भएको पाईए पछि नगरपालिकाका मेयर मंगल प्रसाद थारुलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समुह बाणगंगाले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा बस स्टेशन नजिकै राखिएका पसलहरु खुल्ला रहेको धुलो उडेर खाद्य बस्तुहरुमा आउने देखिएकोले नगरपालिका वा स्थानिय तह जिम्मेवार हुनुपर्ने देखिएकोले नगरपालिकाले बजार क्षेत्रलाई अनुगमन गरी उपभोक्ताहरुलाई खाद्य सुरक्षामा संरक्षण गर्नका लागि जोडदार माग गरिएको छ । त्यस्तै. किराना पसलमा बिभिन्न खाद्य पदार्थहरुलाई चेकजाँच गर्दा अधिकांश सामानहरुमा मिती नभएको, प्रत्येक सामानमा स्टिकर नटाँसिएको, खुल्ला सामानहरुमा कमिला लागेको, सामानहरुको ब्यबस्थापन नगरिएको उल्लेख गरिएको छ ।

त्यस्तै होटल एण्ड लजमा पकाएर राखिएका खाद्य बस्तुहरु खुल्ला राखिएको, नास्ता र खाना बनाउने ढावामा बिभिन्न खाद्य परिकार सहित लोकल मदिरा उत्पादन गरेको, मदिरा उत्पादन ड्रममा राखिएको, कोठामा सामानहरु लथालिङ् अवस्थामा, भाँडाहरु फोहोर देखिएको, दुधडेरीमा राख्ने चास्नीमा मसिना भुसुना किराहरु लागेको, चास्नी बासी राखेकोले तत्काल अनुगमन गरि नागरिकको स्वास्थ्य प्रति संवेदनशिल बन्न ध्यानाकर्षण गराईएको छ । केही दिन अगाडी मात्र बालमैत्री घोषणा भएको नगरपालिकामा १५ वर्ष मुनिका बालबालिकाहरु बाल श्रम शोषणमा परेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर मंगल प्रसाद थारुले बजार अनुगमनलाई तिब्रता दिने कोहि व्यवसायीले पनि नागरिकको स्वास्थ्य प्रति खेलवाड गर्न नहुने भन्दै त्यस्ता कार्य रोक्न नगरपालिका लागिपरेको बताए । उनले स्वास्थ्य जस्तो संवेदनशिल बिषयलाई खेलवाड गरि अखाद्य वस्तु विक्रि गरेको पाईएमा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मानव अधिकार समुह बाणगंगाका उपाध्यक्ष इन्दिरा पन्त, सचिव मधु पाण्डे, सदस्यहरु देबकला सुबेदी कमाल, रुपा पालुंगे मगर, रुपा राई गुरुङ, इन्सेक जिल्ला सहजकर्ता पार्बती आचार्य लगायतले ध्यानाकर्षण पत्र बुझाएका हुन ।