तिलोत्तमामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
583 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय संगिता गाहा मगरकी छोरी २ वर्षीया पृषिका गाहा मगरको गएराति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले शुक्रबार बिहान सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो ।

उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिइनन् । दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का ७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताए ।

घाइते दुबैको अवस्था सामान्य र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।