अर्घाखाँची खिल्जी–रुपन्देही सम्पर्क समाजमा गैरेको नेतृत्व

मेचीकाली संवाददाता

१७ आश्विन २०७८, आईतवार
787 shares

बुटवल । अर्घाखाँची खिल्जी–रुपन्देही सम्पर्क समाजको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिबार बुटवल–१३ स्थित बिजय टोल बिकास समितीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यमप्रसाद गैरेले संस्थाले गतवर्ष गरेका सामाजिक कामलाई निरन्तरता दिदै यो वर्ष थप रचनात्मक काम गर्ने बताए ।

संस्थाले खिल्जीमा नहुँदाको न्यास्रो मेटाउने कार्यक्रम, खिल्जीमा भएका धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रवद्र्घन गर्ने, खिल्जीबाट रुपन्देहीमा आई बसोबास गर्दा पर्ने समस्याहरुको हल गर्ने तथा असहाय, अशक्त, प्राकृतिक विपद्मा सबै मिली सहयोग गर्ने, औषधि उपचारमा समस्या परेकोलाई सहयोग गर्ने, रोजगारको व्यवस्था मिलाउने, एम्बुलेन्स खरिद तथ सञ्चालन जस्ता विषयलाई समावेश गरी विभिन्न योजना अगाडि सारेको अध्यक्ष गैरेले बताए ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक, एसइइमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरी, संस्थाले गरेका विभिन्न सामाजिक काममा ठूलो रकम आर्थिक सहयोग गर्ने सहयोगीहरु धर्मराज भण्डारी, हेमबहादुर आले, निर्मला बेल्बासे र संस्थाका आजिवन सदस्य प्रा.डा नारायणप्रसाद बेल्बासेलगायतलाई सम्मान गरिएको थियो ।

अधिवेशनले आगामी कार्यकालको लागि यमप्रसाद गैरेको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चुरामणी बन्जाडे, सचिवमा ठाकुर बेल्बासे, कोषाध्यक्षमा तुल्सीराम बेल्बासे रहेका छन् । त्यस्तै सदस्यहरुमा गणेश बेल्बासे, उदय थापा, सावित्रा बस्नेत रायमाझी, गीता बस्नेत र चन्द्रबहादुर थापा रहेका छन् ।

अधिवेशनमा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले वार्षिक प्रतिवेदन, उपाध्यक्ष चुरामणी बन्जाडेले आर्थिक प्रतिवेदन र कोषाध्यक्षले अनुमानित बजेट प्रस्तुत गरेका थिए । साधारणसभाले तिनैबटै प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
त्यस्तै सोही कार्यक्रममा अर्घाखाँची खिल्जी स्थायी घर भर्ई दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराइरहेका बाबुराम बेल्बासेलाई संस्थाले ३८ हजार ४ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष यमप्रसाद गैरैले बिरामीका भाइ नारायणप्रसाद बेल्बासेलाई हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता, गोपालप्रसाद बन्जाडेको प्रमुख आतिथ्यता, निर्मला बेल्बासेको बिशिष्ठ आतिथ्यता, चुरामणी बन्जाडेको स्वागत तथा विष्णुप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।