बुटवल । युवा उद्यमशीलता प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले बुटवलमा लुम्बिनी प्रदेशस्तरीय युवा उद्यम तथा सूचना प्रविधि (आइटी) स्टार्टअप प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरले उत्पादन र रोजगारीसँग जोडिएका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै युवालाई स्वरोजगार बनाउन पहल गरिरहेको बताए । युवालाई विभिन्न पेशा, व्यवसाय र उद्यममा आकर्षित गर्न उपमहानगरले लक्षित कार्यक्रम सञ्चालन गरिरहेको उनले उल्लेख गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत गेहनाथ गौतमले लुम्बिनी प्रदेशका १५ जना युवा उद्यमीलाई छनोट गरी उनीहरूका उत्पादनको बजारीकरण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । १८ देखि ४० वर्ष उमेर समूहका तथा कम्तीमा १० वर्षदेखि उत्पादनमूलक क्षेत्रमा संलग्न युवा उद्यमीलाई प्रोत्साहन गर्दै उत्पादनको बजार सुनिश्चित गर्ने वातावरण निर्माणमा परिषद्ले सहयोग गरिरहेको उनले बताए ।
तीनै तहका सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य भएमा युवा उद्यमशीलताको विकास अझ सशक्त बन्ने उनको भनाइ थियो । यस्ता प्रदर्शनी सातै प्रदेशमा सञ्चालन गरिने योजना रहेको समेत उनले जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र बढ्दो वैदेशिक पलायन रोक्न सकिने धारणा राखेका थिए ।
प्रदर्शनीमा सूचना प्रविधि, हस्तकला, कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रसँग सम्बन्धित युवा उद्यमीहरूले आफ्ना उत्पादन र सेवाको प्रदर्शनी गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको समन्वयमा प्रदर्शनी सम्पन्न भएको हो ।
