आत्मनिर्भर समाज निर्माणमा जनउत्थान साकोस

गर्भदेखि स्वर्गसम्मको सहकार्य र प्रेरणादायी साथ

मेचीकाली संवाददाता

२२ असार २०८३, सोमबार
2 shares

मिलन गाहा

बुटवल । सहकारी क्षेत्रप्रति पछिल्ला केही वर्षयता आमनागरिकको विश्वास कमजोर बनेको छ । कतिपय सहकारीमा भएको वित्तीय अनियमितता, बचतकर्ताको रकम फिर्ता हुन नसक्ने अवस्था र त्यसबाट सिर्जिएको निराशाले सम्पूर्ण सहकारी आन्दोलनमाथि नै प्रश्न उठाइदिएको छ ।

तर यही परिवेशमा रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (जनउत्थान साकोस) भने फरक पहिचान निर्माण गर्दै सहकारी भनेको विश्वास, सुशासन र सदस्यको समृद्धिको साझा अभियान हो भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ ।
सदस्यको बचत सुरक्षित राख्ने मात्र होइन, बचतलाई उत्पादन, उद्यम र रोजगारीसँग जोड्दै ‘गर्भदेखि स्वर्गसम्म’ सदस्यको जीवनचक्रसँगै सहयात्री बनेको जनउत्थान आज देशभरका सहकारीका लागि अध्ययनयोग्य नमुना बनेको छ ।

२०५९ साल असोज १५ गते रुपन्देहीको टिकुलीगढमा ३१ जना सदस्य र एक सय रुपैयाँ शेयरबाट सुरु भएको यो संस्थामा अहिले ४३ हजार ८९२ जना सदस्य आबद्ध छन् । विभिन्न सात सहकारी–जनउत्थान, गौमुखी, बुद्ध बहुउद्देश्यीय, पटाकसार, सुदृढ, सगोल महिलालगायत संस्थाको सफल एकीकरणपछि यसको आकार र प्रभाव अझ फराकिलो बनेको हो । आज रुपन्देहीका १० वटा सेवा केन्द्रमार्फत हजारौं सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको छ ।

जनउत्थानको सबैभन्दा ठुलो विशेषता भनेको बचतलाई निष्क्रिय राख्ने होइन, उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति हो । संस्थाले हालसम्म ११ हजार ३८० भन्दा बढी सदस्यलाई ऋण प्रवाह गरी कृषि, पशुपालन, मत्स्यपालन, डेरी, नर्सरी, व्यापार, घरेलु तथा साना उद्योगलगायतका क्षेत्रमा उद्यम विस्तार गर्न सहयोग गरेको छ ।
संस्थाका अनुसार कुल सदस्यको झण्डै ६५ प्रतिशतलाई उत्पादनमूलक लगानी गरिएको छ, जसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ४० हजार रोजगारी सिर्जना भएको अनुमान गरिएको छ ।

नेपालमा सरकारमाथि बारम्बार रोजगारी सिर्जना गर्न नसकेको आरोप लाग्दै आएको छ । वैदेशिक रोजगारीबाट आउने विप्रेषणले अर्थतन्त्र धानेको यथार्थ सबैलाई थाहा छ तर जनउत्थानले भने आफ्नै सदस्यलाई स्वदेशमै उद्यमी बनाउने अभियान सञ्चालन गरेर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने काम गरिरहेको छ । यही कारण यो संस्था केवल वित्तीय संस्था नभई स्थानीय आर्थिक विकासको साझेदार बनेको छ ।
संस्थाका अध्यक्ष गिरीप्रसाद पुनका अनुसार जनउत्थानको सफलता सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र जिम्मेवार नेतृत्वको परिणाम हो । संस्थामा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति नेतृत्वमा बस्न नपाउने व्यवस्था गरिएको छ, जसले नेतृत्व हस्तान्तरण र संस्थागत संस्कृतिलाई मजबुत बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाका अनुसार कर्जा जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता ……………. (ऋबउष्तब िब्मभत्रगबअथ च्बतष्य), तरलता व्यवस्थापन र वित्तीय सूचकहरूको नियमित निगरानी नै संस्थाको बलियो आधार हो । बचतकर्ताको रकम सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नु नै जनउत्थानको दीर्घकालीन रणनीति रहेको उनी बताउँछन् । जनउत्थानको सफलता कागजमा सीमित छैन, यसको प्रत्यक्ष प्रभाव सदस्यहरूको जीवनमा देखिन्छ ।

सिद्धार्थनगरका अशोक चौलागाईँले जनउत्थानबाट प्रारम्भिक दुई लाख ५० हजार रुपैयाँ ऋण लिएर डेरी व्यवसाय सुरु गरेका थिए । अहिले उनको व्यवसायको लगानी ४० लाख रुपैयाँभन्दा बढी पुगेको छ । परिवारका पाँच सदस्यलाई पूर्ण रोजगारी दिएको यो व्यवसायले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । चौलागाईँ भन्छन्,‘जनउत्थानले ऋण मात्र दिएन, व्यवसाय कसरी सफल बनाउने भन्ने तालिम र हौसला पनि दियो ।’
त्यस्तै, रुपन्देहीको ओमसतियाका साहरुख पठानले जनउत्थानकै सहयोगमा करिब ५० लाख रुपैयाँ लगानीको माछापालन व्यवसाय सञ्चालन गरिरहेका छन् । १६ कठ्ठा क्षेत्रफलमा फैलिएको उनको फार्मबाट मासिक लाखौं रुपैयाँ आम्दानी हुने गरेको छ । ‘मेहनत गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन् ।

तिलोत्तमाकी सरिता मल्लले पनि जनउत्थानबाट ऋण लिएर सुरु गरेको नर्सरी व्यवसायलाई सफल उद्यममा रूपान्तरण गरेकी छन् । १५ वर्षदेखि सञ्चालनमा रहेको उनको नर्सरीले अहिले पाँच जनालाई रोजगारी दिएको छ भने मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । जनउत्थानका हजारौं सदस्यले कृषि, व्यापार, सेवा तथा घरेलु उद्योगमार्फत आफ्ना परिवारलाई आत्मनिर्भर बनाएका छन् ।

जनउत्थानको अर्को विशेषता भनेको वित्तीय सेवालाई सामाजिक उत्तरदायित्वसँग जोड्नु हो । गर्भवती तथा सुत्केरी पोषण सहयोग, शैक्षिक सहयोग, बुहारी स्वागत, चेली बिदाइ, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लौरो तथा ह्वीलचेयर वितरण, प्राणघातक रोग लागेका सदस्यलाई आर्थिक सहयोग, शतायु सदस्यको सम्मान तथा सदस्यको निधन हुँदा क्रियाखर्च उपलब्ध गराउने कार्यक्रमले यसलाई ‘गर्भदेखि स्वर्गसम्म’ साथ दिने सहकारीका रूपमा स्थापित गरेको छ ।
सदस्यलाई ऋण दिएपछि त्यसको उपयोग कसरी भइरहेको छ भन्ने नियमित अनुगमन, व्यवसाय प्रवद्र्धन तालिम, पुनर्ताजगी कार्यक्रम तथा उद्यमशीलता विकास प्रशिक्षण सञ्चालन गर्नु पनि संस्थाको विशिष्ट अभ्यास हो । यसले सदस्यलाई ऋणग्राही होइन, सफल उद्यमी बनाउने उद्देश्य बोकेको छ ।

संस्थाले २०८८ सालसम्म ६० हजार सदस्य पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यस अवधिसम्म कुल पुँजी ८२६ करोड रुपैयाँ, शेयर पुँजी ७२ करोड, बचत ६२७ करोड, कर्जा लगानी ६७१ करोड, जगेडा कोष ६५ करोड पु¥याउने लक्ष्यसहित संस्थागत विस्तारको योजना अघि बढाइएको छ ।
सुशासन र उत्कृष्ट वित्तीय व्यवस्थापनका कारण जनउत्थानले अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मान प्राप्त गरेको छ । एशियाली क्रेडिट युनियन महासंघको प्राविधिक सहजीकरणमा सञ्चालित मूल्यांकन प्रणालीअन्तर्गत संस्थाले प्रतिष्ठित ‘एक्सेस सिल्भर ब्रान्ड–२०२५’ प्राप्त गरिसकेको छ ।
नेतृत्व तथा विकास, आन्तरिक सुशासन, वित्तीय अवस्था र सदस्य सेवाका चारै मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै प्राप्त यो सम्मानले जनउत्थानलाई नेपालकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा स्थापित गरेको छ । यसअघि पनि यस संस्थाले ब्रान्ज तथा सिल्भर श्रेणीका विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ र सन् २०२६ को मूल्यांकन प्रक्रियामा समेत सहभागी भएको जनाएको छ ।

आज सहकारी क्षेत्र विश्वासको संकटबाट गुज्रिरहेका बेला जनउत्थान साकोसले एउटा स्पष्ट सन्देश दिएको छ–सहकारी असफल भएको होइन, खराब व्यवस्थापन असफल भएको हो । सुशासन, पारदर्शिता, उत्तरदायित्व र सदस्यकेन्द्रित सेवामार्फत सहकारीले स्थानीय अर्थतन्त्र परिवर्तन गर्न सक्छ भन्ने प्रमाण जनउत्थानले व्यवहारमै प्रस्तुत गरेको छ ।
सहकारी केवल बचत र ऋणको कारोबार गर्ने संस्था होइन; यसले नागरिकलाई आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गर्ने, सामाजिक सुरक्षा प्रदान गर्ने र समुदायको आर्थिक मेरुदण्ड निर्माण गर्ने अभियान हो । जनउत्थान साकोसको दुई दशकभन्दा लामो यात्राले यही सन्देश दिएको छ ।