लुम्बिनीमा धमाधम बनिरहेको छ अन्तर्राष्ट्रिय ध्यान केन्द्र

पहिलो चरणको काम पूरा, २०८० को बुद्ध जयन्ति नयाँ हलमै

मेचीकाली संवाददाता

२० आश्विन २०७८, बुधबार
943 shares

अमृत गिरी
बुटवल। बुद्ध जयन्ति मनाउने क्रममा (केही वर्षअघि) हावाहुरीले कार्यक्रम स्थल भत्काइदियो । कार्यक्रम प्रभावित भयो र सानो कोठामा औपचारिक कार्यक्रम गरि समापन भयो । त्यतिबेलै प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, बुद्ध जयन्ति समारोह र हजारौंले एकैसाथ ध्यान गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र बनाउने घोषणा गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको केही वर्ष अघिको संकल्प अर्थात् घोषणा गरिएअनुरुपको ध्यान केन्द्रको निर्माणकार्य यतिबेला अन्तिम चरणमा पुगेको छ । ध्यान केन्द्रको पहिलो चरणको काम पूरा भएको छ । अहिले चलिरहेको दोस्रो चरणको काम पनि लगभग ५५ प्रतिशत पूरा भइसकेको छ । आउँदो असार मसान्त सम्ममा दोस्रो चरणको पनि निर्माण कार्य पूरा सक्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

बनिरहेको यहीँ ध्यान केन्द्रमा आगामी २०८० को बुद्ध जयन्ति मनाउनेगरी निर्माण कार्य सक्न निर्माण कम्पनीलाई निर्देशन छ । ध्यान केन्द्र जहाँ एकैसाथ आठ हजार जनाभन्दा धेरैले ध्यान गर्न मिल्नेछ । ध्यानकेन्द्रको संरचना निर्माण पूरा भएर शौन्दर्यकरणको काम चलिरहेको छ । केही महिनामै निर्माणकार्य पूरा हुनेछ ।

२०७५ वैशाख १७ गते बुद्ध जयन्तिको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । ३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मा सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलान्यास बुद्धजयन्तीको अवसरमा पार्दा केही समय पछि (२०७५ वैशाख) धकेलिएको थियो । यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो ।

विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहल बनिरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष शाक्यपुत्र भिक्षू मेत्तेयाले बताए । लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उनले सोहीअनुरुपका निर्माण कार्य चलिरहेको बताए । यद्यपि कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन् ।

सभाहलको दोस्रो चरणको पनि ५५ प्रतिशत काम पूरा
कसभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहोरालगायतका काम दोस्रो चरणमा पर्छन् । यस्तै दोस्रो चरणमै करिब एक सयवटा बुद्ध प्रतिमासहितको कलात्मक बाउण्ड्री, भित्री बाहिरी साजसज्जा, हरियाली, वाटर फाउन्टेन र एक किमी सडक निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।

कोरोना कहरमा केही समय अबरुद्ध भएको निर्माण कार्य अहिले जारी छ । विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले आउँदो २०८० को बुद्ध जयन्ति समारोह नयाँ हलमै गर्नेगरी निर्माण कार्य चलिरहेको बताए । उनले निर्माण कम्पनीलाई आवश्यक पर्ने सहयोग उपलब्ध हुने बताउँदै तोकिएको समयमै निर्माण सक्ने गरी जनशक्ति परिचालन गर्न निर्देशन दिइएको बताए । आगामी असार मसान्त सम्म ध्यान केन्द्रको निर्माण कार्य सकिनेगरी सम्झौता भएको इन्जिनियर भट्टराईले बताए ।

दैनिक एक सय ८० देखि दुई सय जनासम्म कामदार लगाएर विभिन्न सिफ्टमा निर्माण कार्य गरिरहेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिकअहमद खानले जानकारी दिए । उनले निर्माण कार्य करिब ५५ प्रतिशत पूरा भएको र तोकिएको समयमै पूरा हुने बताए । दोस्रो चरणको काम आउँदो असार मसान्तसम्म सक्ने सम्झौता छ ।

४३ वर्षमा पूरा हुँदै गुरुयोजना
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । गुरुयोजनाका काम समयमै नहुँदा उनले खिन्नता प्रकट गरेको सूचना पाएपछि केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्रीले चासो बढाएका बताइन्छ । त्यसलगत्तै तत्कालीन सरकारले लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर गर्न कोषलाई निर्देशन दिएको थियो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै ७ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको थियो ।

लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुवात भएपछि अब ४३ वर्षपछि गुरुयोजना पूरा हुने आशा पलाएको छ । लुम्बिनी विकास कोषले गत साता अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेसँगै अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् ।
लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ÷आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टाराईले बताए ।

परिसरबाटै शान्तिको आभास हुने डिजाइन
ध्यानकेन्द्र अर्थात् सभाहलका संरचना त्यहाँ प्रवेश गरेपछि नै शान्तिको आभास हुनेगरी डिजाइन गरिएको छ । यहाँ परिसरमै प्रवेश गरेपछि शान्तिको प्रतीक अथवा पोजेटिभ भाइब्रेशन हुने सोंचका संरचनाको डिजाइन गरिएको छ । सकारात्मक सोंचको प्रतीकको चिनोको रुपमा यसको साजसज्जा र डिजाइन गरिएको कोषका योजना प्रमुख इन्जिनियर भट्टराईको दाबी छ । ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइनमा निर्माण गरिएको छ । यहाँ प्रयोग भएका सामग्री अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल मानिएका कम्पनीबाट समेत ल्याइएको बताइएको छ ।

हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने सक्ने गरी बनाउने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्न सक्ने गरी तयार हुनेछ भने फ्लोरमा सेतो रंगको माजाइक र चार इन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।

वातानुकूलित सभाहलको बीचको माथिको भागमा आकर्षक कमलको फुल बनाइएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको हुनेछ ।

चिटिक्क भयो लुम्बिनी परिक्रमा पथ, लुम्बिनी–तौलिहवा सडक पनि विस्तार
लुम्बिनी गुरुयोजनाको क्षेत्रकै सडक बेहाल अवस्थामा थिए । जतिबेला बुद्ध जयन्तिको समारोह स्थल नै हावाहुरीले उडाइदियो त्यसबेलासम्म परिक्रमाका सडकमा वर्षात्मा हिँड्नै नमिल्ने अवस्था थियो ।

वर्षात्मा हिलो र हिउँदमा धुलो उडेर पर्यटकलाई सास्ती हुने अवस्था थियो र लुम्बिनीभित्रकै सडकको दुर्दशा देखेपछि अर्थमन्त्री बनेका बेलामा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले पहिलो चरणमै ६४ करोड बजेट विनियोजन गरेर सडक निर्माण गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्री भएका बेलामा प्रयाप्त बजेट व्यवस्था गरेर सडक निर्माण गर्न लगाएको ठाउँमा अहिले चिटिक्कको विस्तारित सडक निर्माण भएको छ । गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी हुँदै तौलिहवा जाने सडक पनि चार लेनमा विस्तार भएर आकर्षक बनेको छ । यस्तै भैरहवा–बुटवल सडक पनि विस्तार भएको छ । चौराहा–गोलपार्क सडक भने अनेक कारणले निर्माणमा ढिलाई भई अहिले बल्ल विस्तार भइरहेको छ ।