अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेन बन्यो विश्व विजेता

मेचीकाली संवाददाता

४ श्रावण २०८३, सोमबार
16 shares

बुटवल । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले स्तब्ध पार्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनलमा फेरान टोरेसले गरेको एकमात्र गोल स्पेनलाई विश्वविजेता बनाउन निर्णायक बन्यो। स्पेनले उपाधि जितेको यो दोस्रो पटक हो ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत मिलाइदिएपछि फेरान टोरेसले उत्कृष्ट प्रहार गर्दै बललाई नेटको माथिल्लो भागमा छिराएका थिए।

खेलको ११४औँ मिनेटमा टोरेसले पुनः अर्को गोल गरे पनि त्यसलाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

अर्जेन्टिनाका लागि निर्धारित समयको अन्तिम मिनेटमा मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्ड खाँदै मैदान छाड्नु महँगो सावित भयो। १० खेलाडीमा सीमित भएपछि अर्जेन्टिनाले अतिरिक्त समयको बाँकी ३० मिनेट दबाबमा बिताउनुपरेको थियो।

यसअघि खेलको पहिलो हाफमै प्रमुख डिफेन्डर लिसान्द्रो मार्टिनेज चोटका कारण आँसु झार्दै मैदानबाट बाहिरिएका थिए, जसले अर्जेन्टिनाको रक्षापंक्तिलाई कमजोर बनाएको थियो।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही अवसर सिर्जना गरे पनि १० खेलाडीमा खुम्चिएको आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। स्पेनले भने आक्रामक फुटबल खेल्दै जितको पूर्ण हकदार रहेको पुष्टि गर्‍यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष उपस्थिति रहेको यस फाइनल खेलको हाफ(टाइममा म्याडोना, शाकिरा, जस्टिन बिबर र बीटीएस जस्ता विश्वप्रसिद्ध कलाकारहरूले भव्य सांगीतिक प्रस्तुति दिएका थिए।

सन् २०१० पछि पहिलो पटक विश्वकपको ट्रफी उचाल्ने क्रममा स्पेनले पूरा प्रतियोगिताभरि नै उत्कृष्ट प्रदर्शन गर्‍यो।