स्वर्णीम सहकारीको वार्षिक साधारणसभा सम्पन्न सम्पन्न

मेचीकाली संवाददाता

२० आश्विन २०७८, बुधबार
505 shares

बुटवल । बुटवल–५ नेपालगञ्ज रोडस्थित स्वर्णीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार संस्थाकी अध्यक्ष पारु ध्वजू श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यता, जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईको विशिष्ट आतिथ्यता, संस्थाका संस्थापक अध्यक्ष देवेद्रप्रसाद ध्वजू, लेखा समिति सदस्य धनिराम घिमिरे, नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष गंगा गुरुङलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख आचार्यले सहकारीको महत्व तथा राष्ट्रिय विकासमा यसको महत्वको बारेमा प्रष्ट पार्दै हरेक नागरिकलाई समृद्ध बनाउनका लागि सहकारीले महत्वपूर्ण भूमीका खेल्ने बताइन् । सहकारीका कर्मचारी, शेयर सदस्यहरुलाई सहकारी तालिम आवश्यक पर्ने उनले बताइन् ।

‘त्यस्तै मेरो सहकारी राम्रो सहकारी’ बनाउनका लागि प्रकृती मिल्नेखालका सहकारीहरुलाई एकीकरण गरेका सञ्चालन गर्न जरुरी रहेको जानकारी दिँदै यसो गर्न सकेमा शेयर सदस्यहरुलाई धेरै फाइदा हुने उनले बताइन् । बुटवल उपमहानगरपालिकाभित्रका सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नका लागि नियमन गर्दै उपप्रमुख महिला उद्यमशिलता कार्यक्रम आयोजना गरी तालिम प्रदान गर्दै आएको उनले बताइन्।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष गंगा गुरुङ, अरुणकुमार श्रेष्ठ, राजन श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष ध्वजूले संस्थागत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाकी कोषाध्यक्ष गोमा पोख्रेलले आर्थिक वर्ष ०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । जसअनुुसार आर्थिक वर्ष ०७७÷०७८ को शेयर पूँजी १ करोड ६७ लाख ८ हजार २ सय, सदस्यहरुलाई दिएको ऋण २ करोड १९ लाख ७६ हजार एक सय ८३ रुपैयाँ रहेको छ । त्यस्तै खुद नाफा १९ लाख ६० हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।

उक्त सहकारीका नियमित दैनिक बचत, साप्ताहिक बचत, मासिक बचत, आवधिक बचत, नारी बचत, बाल बचत, ज्येष्ठ नागरिक बचत, चल्ती बचत, भुड्की बचतलगायतका विभिन्न बचत योजनाहरु रहेका छन् । कार्यक्रममा कोरोनाबाट मृत्यु भएका शेयर सदस्य सतिस कसौधनका परिवारलाई राहत रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका ६० वर्षमाथिका तीन जना जेष्ठ सदस्य पितामबर विक, होमबहादुर पुन, राजकुमार अग्रवाललाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणीमध्येबाट विष्णु पाण्डे, तुलसा न्यौपाने र यमुना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

महिला नेतृत्व रहेको उक्त सहकारीमा ४० प्रतिशतभन्दा बढी सदस्य महिला छन् भने हाल सहकारीमा सात सय ७५ जना शेयर सदस्य रहेका छन् । संस्थाकी उपाध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन माया भट्टराईले गरेकी थिइन् ।